Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सरकारले सुटिङ रोक्ने निर्णय गरेको छैन : बोर्ड अध्यक्ष दाहाल

फिल्मीखबर, काठमाडौं, 2022/01/19
Dayaram Dahal
 
कोरोना महामारीका कारण सबैभन्दा बढी मारमा परेको नेपाली फिल्म क्षेत्र फेरि धरासायी हुने अवस्थामा पुगेको छ । संक्रमणको तेस्रो लहर फैलिएको भन्दै सरकारले तेस्रो पटक हलहरु बन्द गर्न निर्देशन दिइसकेको छ । संक्रमण बढ्दै गएकाले माघ १५ सम्म भनिएको हल बन्द गर्ने निर्णय लम्बिने सम्भावना बलियो छ । जसले गर्दा फिल्म क्षेत्रमा अब के हुने हो भन्ने अन्योलता छाएको छ । 
 
सरकारले हलहरु बन्द गर्ने निर्णय गरेपछि धेरै निर्माता तथा निर्देशकहरु फिल्मको सुटिङ गर्न पनि डराएका छन् । तर, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले सरकारले फिल्मको सुटिङ रोक्ने विषयमा कुनै निर्णय नगरेकाले स्वास्थ्य मापदण्ड अपनाएर छायांकन गर्न आग्रह गरेका छन् । छायांकनको समयमा कुनै रोकटोक भए आफूलाई सम्पर्क गर्न उनको आग्रह छ । 
 
उनले भने, ‘२५ जनाभन्दा बढी भेला हुन नपाइने सरकारको निर्णय हो । फिल्मको सुटिङमा पनि यो कुरा चाहिँ लागू हुन्छ । तर, सुटिङ नै रोक्ने विषयमा सरकारले कुनै निर्णय नगरेकाले ढुक्क भएर सुटिङ गर्दा हुन्छ । तोकिएको स्वास्थ्य सुरक्षाको मापदण्ड चाहिँ अपनाउनु होला ।’ सावधानी र सतर्कता अपनाएर यो समयमा पनि फिल्म क्षेत्रलाई चलायमान बनाउनु पर्ने उनको धारणा छ ।
 
अहिले सुवर्ण थापाको निर्देशन रहेको फिल्म ‘म’ को छायांकन भइरहेको छ । त्यस्तै, एक सातादेखि फिल्म ‘लाखे’ पनि छायांकनमा छ । सरकारले कुनै पनि बेला लकडाउन वा सुटिङ रोक्न निर्देशन दिन सक्ने भएकाले यतिबेला धेरै निर्माता तथा निर्देशकहरु पर्ख र हेरको अवस्थामा छन् । किनकि, सुटिङ अधुरैमा रोक्नु पर्ने अवस्था आयो भने निर्मातालाई आर्थिक रुपमा ठूलो मार पर्नेछ ।
Most Visited News (monthly)