.jpg)
विवाहअघि अभिनेत्री प्रियंका कार्कीको फिल्ममा व्यस्तता सुखद् थियो । श्रीमान् तथा अभिनेता आयुष्मान देशराज जोशीसँग उनले लगातार फिल्ममा अभिनय गर्दै आएकी थिइन् । विवाह बन्धनमा बाँधिए लगत्तै देश कोरोना महामारीले लकडाउन भएपछि उनी घरभित्रै सीमित भइन् । पहिलो चरणको लकडाउनपछि उनले केही म्यूजिक भिडियोमा अभिनय गरे पनि फिल्म भने हातमा परेन ।
कोरोनाको दोस्रो लहर सुरु भएर फेरि बन्दाबन्दी भएपछि प्रियंकाले आमा बन्ने निर्णय गरिन् । यस वर्षको असोजमा छोरीलाई जन्म दिएकी उनी अहिले आमाको जिम्मेवारी निर्वाह गरिरहेकी छन् । फिल्ममा धेरै पटक आमाको चरित्र बाँचिसकेकी उनले वास्तविक जीवनमा पहिलो पटक आमाको अनुभव गर्न पाउँदा खुसी देखिएकी छन् । उनले सन्तानको हेरचाहमा कुनै कमी राखेकी छैनन् ।
आमा भएपछि प्रायः महिलाहरुको तौल बढ्ने गर्छ । सुत्केरी खानेकुराले प्रियंका कार्की पनि निकै मोटाएकी छन् । फिल्म ‘लक्का जवान’ मा काम गर्ने समयमा उनी ५०/५५ केजीको आसपास थिइन् । तर, आमा बनेपछि उनी सय केजीको नजिक पुगेकी छिन् । छोरी हुर्किँदै गएपछि भने उनले आफ्नो तौल घटाउन थालेकी छन् । उनले एक महिनादेखि खानपिनमा विशेष ध्यान दिएकी छन् ।
मंगलवार इन्स्टाग्राम स्टोरीमार्फत् प्रियंकाले गएको तीन हप्तामा आफ्नो साढे ५ केजी तौल घटेको जानकारी दिएका छन् । आफ्नो शरीरलाई पुरानै स्वरुपमा ल्याएर उनी काममा फर्किने योजनामा रहेको बुझ्न सकिन्छ । विवाहअघि उनले फिल्म ‘लक्का जवान’ मा काम गरेकी थिइन् । यो फिल्म कोरोनाले गर्दा प्रदर्शनमा आउन सकेको छैन । विवाहपछि उनले नयाँ फिल्म साइन गरेकी छैनन् ।

