
साउथ फिल्मका सुपरस्टार अल्लू अर्जुन अभिनीत फिल्म ‘पुष्पा : द राइज’ ले भारतमा आक्रामक कमाई गर्यो । हिन्दी भर्सनमा मात्र फिल्मले ८० करोडभन्दा बढीको कमाई गरेको छ । संसारभर साढे ३ सयभन्दा बढीको कमाई गरेको फिल्मले नेपालमा पनि हल बन्द हुनुभन्दा अगाडि आक्रामक कमाई गरिरहेको थियो । यो फिल्मले अल्लू अर्जुनको स्टारडम थप उचाइँमा पुर्याएको छ ।
‘पुष्पा’ को लोकप्रियता र सफलतापछि अब अल्लू अर्जुनको अर्को फिल्म ‘अला वैकुण्ठपुरमलो’ को पनि हिन्दी डब सिनेमा हलमा रिलिज गरिने भएको छ । यही २६ जनवरीमा फिल्मको हिन्दी डब भारतका हलहरुमा प्रदर्शन हुने ट्रेड एनालिस्ट तरण आदर्शले सामाजिक सञ्जालमार्फत् जानकारी दिएका छन् । त्रिविक्रम श्रीनिवास निर्देशित यो फिल्म २०२० मा हलमा रिलिज भएको थियो ।
बक्सअफिसमा ब्लकबस्टर सावित भएको फिल्मले १ सय ६० करोडको कमाई गरेको थियो । यो फिल्ममा अल्लू अर्जुनका अलावा पूजा हेगडे, समुथिरकानी, तब्बू, जयराम, सुशांत, निवेथा पेथुराज, नवदीप र राहुल रामकृष्ण लगायतको अभिनय छ । कोरोनाको तेस्रो लहरले भारतका ठूला फिल्मको रिलिज रोकिएपछि ‘अला वैकुण्ठपुरमलो’ को हिन्दी डब हलमा रिलिज गर्न लागिएको हो ।

