नेपाली फिल्मको एउटा सिंगो युग हाँक्ने निर्देशक हुन्, तुलसी घिमिरे । उनको आगमनपछि नेपाली फिल्मले व्यवसायिक रुपमा सानदार फड्को मारेको थियो । ‘बाँसुरी, कुसुमे रुमाल, अन्याय, चिनो, लाहुरे, दुई थोपा आँशु, दक्षिणा, देवता, बलिदान, दर्पण छाँया’ जस्ता अजम्बरी र कालजयी फिल्म दिएका उनी निर्देशकसँगै सम्पादक, छायाँकार, पटकथाकार र अभिनेता समेत हुन् ।

तर, विगत झैँ उनी वर्तमान अवस्थामा निर्देशनमा सक्रिय छैनन् । पछिल्लो फिल्म ‘दर्पण छायाँ २’ को असफल भएपछि उनले नयाँ फिल्मको निर्देशन गरेका छैनन् । अब भने उनी निर्देशनमा फर्किने तयारीमा जुटेका छन् । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले चाँडै नयाँ फिल्म लिएर आउन लागेको जानकारी दिए । आउँदो फागुन वा चैतबाट फिल्मको छायांकन सुरु हुनसक्ने उनले बताए ।
नयाँ फिल्मको बारेमा उनले भनेका छन्, ‘मार्च वा अप्रिलमा एउटा प्रोजेक्टको तयारी गरिरहेका छौं । फिल्मको शिर्षक भने दर्ता भइसकेको छैन । एउटा सामाजिक विषयवस्तुमा फिल्म बनाउने छौं । हामीले बनाउने फिल्मलाई पुरानो धारको भनिन्छ । त्यही धारको फिल्म बनाउँदैछौं ।’ अहिले पालो पर्खेर फिल्मको रिलिज गर्नुपर्ने भएकाले नयाँ फिल्म गर्न समय लाग्ने उनको भनाई छ ।
युवा पुस्ताका निर्देशकको काम गर्ने र सोच्ने शैलीबाट आफू प्रभावित भएको पनि उनी बताउँछन् । अहिलेका निर्देशकहरुले अग्रज निर्देशकको राम्रो र नराम्रो पक्ष केलाएर अगाडि बढ्ने कार्यशैली मन परेको उनले बताए । ‘युवा निर्देशकहरुले हामीहरुलाई स्टडी गर्नु हुँदोरहेछ । हामीले गरेका नराम्रो पक्ष दोहोर्याउनु हँदैन भनेर काम गर्ने उहाँहरुको सोचबाट म अत्यन्त खुसी छु,’ उनले भने ।

