(2)(1)(1).jpg)
कोरोनाको तेस्रो लहर रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारले सिनेमा हलहरु पुनः बन्द गर्ने निर्णय गरेको छ । आइतवार मन्त्रिपरिषदको बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले माघ १५ गतेसम्म हलहरु सञ्चालन गर्न नपाउने बताएका हुन् । सरकारले दोहोरी साँझ, क्लब, पब, हेल्थ क्लब, जिमखाना लगायत पनि बन्द गर्ने निर्णय गरेको छ ।
कोरोनाका कारण यसअघि दुई पटक हलहरु बन्द भइसकेका छन् । पहिलो चरणको महामारीमा करीब ९ महिना बन्द भएर खुलेका हलहरु सरकारले तीन महिनामै फेरि बन्द गराएको थियो । दोस्रो पटक करीब ५ महिना बन्द भएर यसपालीको दशैंबाट हलहरु खुले । कोरोनाको तेस्रो लहर फैलिएसँगै सरकारले फेरि हल बन्द गर्ने निर्णय गरेपछि फिल्मकर्मीहरु निराश बनेका छन् ।
माघ १५ गतेसम्म हलहरु बन्द गर्ने सरकारको निर्णयले सबैभन्दा ठूलो मार फिल्म ‘चपली हाइट ३’ लाई परेको छ । यो फिल्म शुक्रवारबाट प्रदर्शन भइरहेको छ । प्रदर्शनको तीन दिनमै हलहरु बन्द हुने भएपछि निर्मातालाई आर्थिक रुपमा ठूलो क्षति भएको छ । यस्तै, माघ १९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘म यस्तो गीत गाउँछु २’ को अब रिलिज रोकिने भएको छ ।

