Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निकेश भन्छन्, ‘नेपालमा ‘चपली हाइट ३’ जस्तो थ्रिलर फिल्म बनेको छैन’

फिल्मीखबर, काठमाडौं, 2022/01/12
म्यूजिक भिडियोको दुनियाँमा स्थापित नाम हो, निकेश खड्का । उनले पन्ध्र सयभन्दा बढी म्यूजिक भिडियोको निर्देशन गरिसकेका छन् । म्यूजिक भिडियो निर्देशनमा बेग्लै पहिचान बनाएका उनले ‘जिन्दगी रक्स’ बाट फिल्म निर्देशनमा डेब्यू गरेका थिए । यसपछि ‘फाटेको जुत्ता’ को निर्देशन गरे । तर, म्यूजिक भिडियोमा जस्तो उनले फिल्म निर्देशनमा आफ्नो क्षमता देखाउन सकेका छैनन् ।
 
एकपटक फेरि उनी आफूलाई निर्देशनमा प्रमाणित गर्न फिल्म ‘चपली हाइट ३’ लिएर आउँदैछन्, जुन पुष ३० गतेबाट प्रदर्शनमा आउँदैछ । फिल्मको रिलिज नजिकिँदै गर्दा उनको मुटु अन्य समयभन्दा बढी नै धड्किएको छ । एकातिर ‘चपली हाइट’ को ब्रान्ड जोगाउनु पर्ने चुनौती उनीमाथि छ भने अर्कोतिर आफ्नो निर्देशकिय क्षमताको परीक्षामा उत्रीर्ण हुनुपर्ने दबाबको भारी पनि छ ।
 
Nikesh Khadka
 
तर, उनी आफ्नो तर्फबाट फिल्ममा शतप्रतिशत काम गरेकाले दर्शक र समीक्षकबाट राम्रो प्रतिक्रिया मिल्नेमा विश्वस्त छन् । उनी भन्छन्, ‘यो फिल्म दर्शकहरुले हेरिराखेको फिल्मभन्दा फरक छ । कोरोना महामारीपछि ओटीटीमा दर्शकले सबैभन्दा बढी हेरेको जनरा नै क्राइम थ्रिलर हो । जसले गर्दा दर्शकको यो जनराप्रति अपेक्षा धेरै छ । दर्शकको त्यो अपेक्षा पूरा गर्ने काम गरेको छु ।’
 
फिल्म हेर्दा समय र पैसा असुल हुनुपर्छ भन्ने मान्यता राख्ने निर्देशक खड्का ‘चपली हाइट ३’ ले दर्शकको समय र पैसा असुल गर्ने दाबी गर्छन् । फिल्मको सस्पेन्स पाटोले दर्शकलाई हलमा बाँधेर राख्ने उनको कथन छ । ‘चपली हाइट ३’ जस्तो सस्पेन्स-थ्रिलर फिल्म अहिलेसम्म नबनेको पनि उनी बताउँछन् । कथावस्तुको हिसाबले अघिल्ला दुई सिरिजभन्दा अलग रहेको उनको भनाई छ ।
 
अर्जुन कुमारले निर्माण गरेको यो फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतको अभिनय छ । सुभाष भुषाल र अर्जुन कुमारको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।
Most Visited News (monthly)