Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब कुनै हालतमा ‘चपली हाइट ३’ सर्दैन : अर्जुन कुमार

फिल्मीखबर, काठमाडौं, 2022/01/11
कोरोना संक्रमणको तेस्रो लहर फैलिन थालेसँगै कोभिड व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले विद्यालयहरु बन्द गर्ने, २५ जनाभन्दा बढी भेला हुन नपाइने र पुष ७ गतेबाट सिनेमा हलमा जाँदा कोभिड खोप लगाएको कार्ड लिएर जानुपर्ने निर्णय गरेपछि नेपाली निर्माताहरु तर्सिएका छन् । प्रदर्शन मिति तोकेका फिल्म रोक्ने कि चलाउने भन्नेमा निर्माताहरु अलमलमा परेका छन् ।
 
यही पुष ३० गतेबाट फिल्म ‘चपली हाइट ३’ प्रदर्शनमा आउने तयारीमा छ । प्रदर्शनको एक हप्तासम्म यो फिल्म हेर्न दर्शकले हलमा कोरोनाको खोप लगाएको कार्ड देखाउनु पर्ने छैन । तर, पुष ७ गतेबाट भने खोप कार्ड नदेखाइ फिल्म हेर्न पाइने छैन । जसका कारण दोस्रो हप्ताबाट व्यापारमा ठूलो गिरावट आउने भएकाले फेरि फिल्मको रिलिज सर्न सक्ने कतिपयको अनुमान छ । 
 
arjun kumar
 
तर, निर्माता अर्जुन कुमार अब कुनै हालतमा फिल्मको रिलिज नसर्ने बताउँछन् । सरकारले हल नै बन्द गरे मात्र फिल्मको रिलिज रोकिने उनको दाबी छ । उनले भने- ‘दोस्रो हप्तामा खोप कार्ड देखाउनु पर्ने नियमले फिल्मको व्यापारमा केही असर पर्न सक्छ । तर, यसका कारण हलमा दर्शकहरु आउनुहुन्न भन्ने म मान्दिनँ । म आफैं दर्शकहरुलाई कार्ड बोकेर फिल्म हेर्न आउनुस् भन्छु ।’ 
 
अन्य ठाउँभन्दा सिनेमा हल धेरै सुरक्षित भएकाले ढुक्कसँग फिल्म हेर्न आउन उनी दर्शकहरुलाई आग्रह गर्छन् । ‘हलको गेटमै सेनिटाइजरको व्यवस्था हुन्छ । फिल्मको शो सकिएपछि हरेक पटक हललाई सेनिटाइज गरिन्छ । सामाजिक दूरीमा कायम गर्न लगाइन्छ । अरु ठाउँभन्दा हल धेरै नै सुरक्षित छ । त्यसैले केही डर नमानी ढुक्क भएर फिल्म हेर्न आउँदा हुन्छ,’ अर्जुनले भने । 
 
निकेश खड्काको निर्देशन रहेको फिल्ममा स्वस्तिमा खड्का, आमिर गौतम, सुपुष्पा भट्ट, महेश त्रिपाठी, अर्पण थापा, प्रतिकमान श्रेष्ठ, दीपाश्री निरौला, लक्ष्मी बर्देवा, लोकेन्द्र लेखक, विशाल पहारी, जीवन भट्टराई, सुष्मा निरौला लगायतको अभिनय छ । सुभाष भुषाल र अर्जुन कुमारको संगीत, पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्मको कथा तथा संवाद आकाश बरालले लेखेका हुन् ।
Most Visited News (monthly)