Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आफ्नो स्टारडम जोख्न पलको पत्रकारलाई चुनौती !

मनिष अन्जान, काठमाडौं, 2022/01/11
कोरोना महामारीका कारण जारी लकडाउनमा नेपालका अधिकांश सेलिब्रेटीहरु घरको चारकुनामा नजरबन्द भए । अभिनेता पल शाहलाई भने लकडाउन हुनु चिठ्ठै परे जस्तो भयो । फिल्म ‘म यस्तो गीत गाउँछु २’ को प्रचार-प्रसार र ‘दुई नम्बरी’ को छायांकनले गर्दा उनले म्यूजिक भिडियोमा काम गर्न पाएका थिएनन् । जसका कारण दिनहुँ लाखौं रुपैयाँ उनको हातबाट फुत्किरहेको थियो । 
 
तर, लकडाउनपछि फिल्मको प्रदर्शनदेखि छायांकनसम्म रोकिए । पललाई के खोज्छन् कानो आँखो भने जस्तै भयो । केही हप्ता घरमा विताएपछि उनले म्यूजिक भिडियोको काम सुरु गरे । त्यसबेलादेखि म्यूजिक भिडियोमा सुरु भएको उनको व्यस्तता अझै घटेको छैन । उनी दिनहुँ म्यूजिक भिडियोमा व्यस्त छन् । दिनहुँ यूट्युब र टिभीमा उनका गीतहरु सार्वजनिक भइरहेका हुन्छन् ।
 
कोरोना महामारीको समयमा पलले दुईवटा रेकर्ड बनाए । एउटा, म्यूजिक भिडियोमा अभिनय गरेर सर्वाधिक कमाई गर्ने मोडल र अर्को, सबैभन्दा बढी म्यूजिक भिडियोमा अभिनय गर्ने मोडलको रेकर्ड । लकडाउनमा आर्थिक पाटोबाट उनी जति बलियो भए त्यति नै अन्धाधुन्ध म्यूजिक भिडियोमा अभिनय गर्दा स्टारडम कमजोर बनेको छ । तर, उनी गीतको यूट्युब भ्यूज देखेरै दंग छन् । 
 
paul shah
 
वाक्कदिक्क हुने गरी म्यूजिक भिडियोमा देखिरहँदा कलाकारहरुको भ्यालू हुँदैन । दर्शकको चासो घट्छ । तर, पललाई लाग्छ कि आफूप्रति दर्शकको विश्वास र रुची घटेको भए आफ्ना गीतले यूट्युबमा त्यति ठूलो भ्यूज कसरी पाउँछन् ? उनको बुझाई गलत होइन । मोडलको रुपमा उनका लागि यो ठूलो सफलता हो । तर, उनले आफू ‘फिल्मको नायक हुँ’ भन्ने कुरा पनि विर्सनु हुँदैछ । 
 
सित्तैमा यूट्युबमा गीत हेर्ने र हलमा पैसा तिरेर फिल्म हेर्ने दर्शकको जमात फरक छ । पलका गीत यूट्युबमा हेर्ने एक प्रतिशत दर्शक मात्रै पनि हलसम्म जान्थे भने उनका ‘वीर विक्रम २ र जोनी जेन्टलम्यान’ फिल्म फ्लप हुँदैन थिए । यदी उनले ‘नाइँ नभन्नू ल ४, शत्रु गते, म यस्तो गीत गाउँछु’ जस्ता फिल्म आफ्नै कारणले हिट भएको ठानेका छन् भने त्यो उनको भ्रमबाहेक केही होइन । 
 
केही समय अगाडिसम्म अनमोल केसी र प्रदीप खड्कापछि स्टारडम भएको नायकमा पलको नाम आउँथ्यो । तर, महामारीयता बग्रेल्ती म्यूजिक भिडियोमा अभिनय गर्दा उनी दर्शकमाझ यति सस्तो बनेका छन् कि अब उनको नाममा फिल्म चल्छ भन्ने ‘विश्वास’ नामको चरो पनि लोप हुन थालेको छ । तर, पल म्यूजिक भिडियोको भ्यूज देखेर स्टारडम कमजोर बनेको मान्न तयार नै छैनन् ।
 
सोमवार राजधानीमा एक म्यूजिक भिडियोको सार्वजनिक कार्यक्रममा पत्रकारले ‘धेरै म्यूजिक भिडियोमा देखिँदा स्टारडम घटेको छ भन्ने लाग्दैन ?’ भनेर सोधेको प्रश्नमा पलले आफ्नो कुनै फिल्म सुपरफ्लप भएको दिन यसको जवाफ दिने बताए । उनले घुमाउरो रुपमा आफू हिट फिल्मको ‘किंग’ भनिरहँदा हलमा टाँट पल्टिएको फिल्म ‘वीर विक्रम २’ का निर्माताले चाहिँ के सोचे होलान् ?
 
उनले म्यूजिक भिडियोमा धेरै देखिँदा आफ्नो स्टारडम घटेको भए जोख्न पनि पत्रकारलाई चुनौती दिए । उनले भने, ‘स्टारडम जोख्ने माध्यम के छ तपाईंसँग ? छ भने जोखौं ? स्टारडम घटेको भनेर चलेको हल्लाको पछाडि दौडिन छाडौं ।’ म्यूजिक भिडियोबाट दर्शकहरुको घर-घरमा पुग्ने आफ्नो उद्देश्य रहेको र यसबाट स्टारडम घट्यो वा बढ्यो भन्ने आफूलाई थाहा नभएको उनले बताए ।
 
आफ्नो स्टारडम जोख्न पत्रकारलाई चुनौती दिएका पल स्टारडम मापन गर्ने परीक्षाको भने नजिककै छन् । सबैभन्दा पहिला फिल्म ‘म यस्तो गीत गाउँछु २’ को व्यापारले उनको स्टारडमको मापन गर्नेछ । यसपछि ‘दुई नम्बरी’, ‘हुतुतु’ फिल्मले उनको स्टारडम जोख्नेछ । पलले बुझ्नु पर्ने एउटा कुरा चाहिँ के हो भने कलाकारको स्टारडम यूट्युब भ्यूजले नभइ बक्सअफिसले निर्धारण गर्छ ।
Most Visited News (monthly)