एशियाकै सबैभन्दा ‘ह्यान्डसम म्यान’ को रुपमा चिनिने बलिउड सुपरस्टार ऋतिक रोशन ४८ वर्ष (१० जनवरी, १९७४) का भएका छन् । फिल्मी ब्याकग्राउन्ड हुनुको बावजूद पनि उनलाई इन्डस्ट्रीमा आफ्नो स्थान बनाउन निकै कठिन भएको थियो । सन् २००० मा आएको फिल्म ‘कहो ना प्यार हे’ बाट बलिउडमा धमाकेदार इन्ट्री गरेका उनी अहिलेका सबैभन्दा महंगा नायकमा गनिन्छन् ।
दाहिने हातमा दुई औंलाको साथ जन्मिएका ऋतिकलाई यही कारण अरुभन्दा अलग सम्झिने गरिन्थ्यो । स्कूल जीवनमा एक्स्ट्रा औंला भएका कारण कोही उनको नजिक पर्दैन थिए । उनलाई रोकिएर बोल्ने पनि समस्या थियो । यसैले उनले स्कूलमा मौखिक परीक्षा कमै दिएका थिए । पछि परिवारले स्पीच थेरापी सुरु गराएपछि उनको बोल्न कठिनाइ हुने समस्या समाधान भएको थियो ।

ऋतिकले ६ वर्षको उमेरमै फिल्ममा अभिनय गरेका थिए । सन् १९८० मा फिल्म ‘आशा’ मा अभिनेता जितेन्द्रसँग डान्स गरेबापत उनले सय रुपैयाँ पाएका थिए । २० वर्षको उमेरमा भने उनी स्कोलियोसिस नामको विरामीको चपेटामा परे । हड्डीको विरामी भएकाले उनलाई डाक्टरले डान्स र स्टन्ट गर्न मनाही गरेका थिए । तर, अहिले उनलाई यीनै दुई कुराले सुपरस्टार बनाएको छ ।
ऋतिक सबैभन्दा पहिला शेखर कपूरको फिल्म ‘रम पम पम’ बाट डेब्यू गर्ने तयारीमा थिए । तर, पछि यो फिल्म पोस्टपोन्ड भयो । यसैक्रममा पिता राकेश रोशनले फिल्म ‘कहो ना प्यार हे’ सुरु गरे र ऋतिकलाई नायकको रुपमा डेब्यू गराए । पहिला राकेश यो फिल्म शाहरुख खानलाई लिएर बनाउन चाहन्थे । तर, उनलाई स्क्रिप्ट मन नपरेपछि राकेश रोशनले आफ्नै छोरालाई हिरो बनाए ।
‘कहो ना प्यार हे’ ब्लकबस्टर भएपछि ऋतिकलाई ३० हजारभन्दा बढी युवतीले विवाहको प्रपोज गरेका थिए । यो कुरा उनी स्वयंले बताएका थिए । २००२ मा ऋतिकले सुजेन खानसँग विवाह गरेका थिए । तर, वैवाहिक जीवनमा बाँधिएको १३ वर्षपछि उनीहरु एकअर्काबाट अलग भए । उनीहरुका दुई सन्तान छन् । डिभोर्सपछि पनि उनीहरु सन्तानका कारण एकअर्कासँग नजिक छन् ।
ऋतिक र सुजेनको वैवाहिक जीवन टुट्नुमा अभिनेत्री कंगना रनावटको हात मानिन्छ । सुजेनसँग डिभोर्स हुनुभन्दा अगावै ऋतिक कंगनाको प्रेममा थिए । कंगनासँगै उनको करीना कपूर र बारबरा मोरीसँग पनि प्रेम सम्बन्ध थियो । उनी बलिउडका धनी नायक पनि हुन् । उनको कूल सम्पत्ति २ हजार ७ सय ४८ करोडभन्दा बढी छ । उनको वार्षिक आम्दानी २ सय ६० करोड हुने गर्छ ।

