Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब अभिनय गर्दिनँ, निर्देशन गर्छु : सुरज पाण्डे

फिल्मीखबर, काठमाडौं, 2022/01/10
पहिलो गाँसमा नै ढुंगा चपाएका कलाकार हुन्, सुरज पाण्डे । आमा (शर्मिला पाण्डे) ले निर्माण गरेको फिल्म ‘लभ लभ लभ’ बाट उनले अभिनय करिअरको सुरुवात गरेका थिए । फिल्ममा उनको अपोजिटमा स्वस्तिमा खड्का थिइन् । ‘पशुपति प्रसाद’ जस्तो उम्दा फिल्मका निर्देशक दीपेन्द्र के. खनालले निर्देशन गरेको फिल्म हलमा भने टाँट पल्टियो । सुरजको अभिनय पनि रुचाइएन ।
 
यसपछि उनले न बाहिरी ब्यानर न त होम प्रोडक्सनको फिल्ममा नै काम गरेका छन् । बरु, अहिले उनी आफ्नो र निर्देशक दीपेन्द्र के. खनालको नामबाट खोलिएको प्रोडक्सन कम्पनी ‘डिएस डिजिटल’ बाट निर्माण हुने फिल्ममा निर्माताको रुपमा जोडिँदै आएका छन् । यो ब्यानरले निर्माण गरेका ६ मध्ये ५ वटा फिल्ममा असिस्टेन्ट डाइरेक्टरको रुपमा काम गरेको अनुभव पनि उनीसँग छ । 
 
suraj pandey
 
एक फिल्ममा गरेको अभिनय र पाँचवटा फिल्ममा असिस्टेन्ट डाइरेक्टरको रुपमा बटुलेको अनुभवलाई सर्टिफिकेट मानेर अब सुरजले निर्देशनको कमान्ड सम्हाल्ने भएका छन् । यसै साता राजधानीमा एक कार्यक्रमका बीच उनले निर्देशन गर्ने पहिलो फिल्म ‘परस्त्री’ को घोषणा गरियो । दीपेन्द्र के. खनालले लेखेको कथामा तयार हुने यस फिल्ममा कोशिश क्षेत्री मुख्य भूमिकामा छन् ।
 
सुरज लकडाउनको समयमा गरेको अध्ययन र पाँचवटा फिल्ममा क्यामेरा पछाडि बसेर बटुलेको अनुभवपछि निर्देशन गर्ने हिम्मत आएको बताउँछन् । उनी भन्छन्, ‘डि.एस डिजिटलले बनाएका ६ फिल्ममध्ये ५ वटामा मैले क्यामेरा पछाडि बसेर काम गरेँ । लकडाउनमा अध्ययन पनि गरेँ । दीपेन्द्र दाईले धेरै सिकाउनु भएको छ । यसैले पनि निर्देशन गर्न सक्छु भन्ने हिम्मत आएको हो ।’ 
 
आफू फिल्म क्षेत्रमा कलाकार बन्न नभइ निर्देशक बन्ने सपना बोकेर आएको सुरजको भनाई छ । ‘मेरो सोच कहिल्यै कलाकार बन्छु भन्ने थिएन । मलाई पहिल्यैदेखि निर्देशक बन्ने इच्छा थियो । तर, ममी (शर्मिला पाण्डे) ले ‘पछि निर्देशन गर्नु अहिले अभिनय गर’ भन्नु भएपछि ‘लभ लभ लभ’ मा अभिनय गरेँ । अब अभिनयलाई ब्रेक दिएको छु । निर्देशनमा अगाडि बढ्ने सोच छ,’ उनले भने ।
Most Visited News (monthly)