.jpg)
अभिनेत्री सुष्मा कार्कीलाई ‘कन्ट्रोभर्सी क्विन’ भन्ने गरिन्छ । फिल्मी करिअरको सुरुवाती समयदेखि नै उनी अभिनयभन्दा विभिन्न ‘कन्ट्रोभर्सी’ का कारण चर्चा र विवादको केन्द्रमा रहँदै आएकी छन् । कहिले अभिनेत्री पूजा शर्मासँगको लफडा त कहिले प्रेमीबाट कुटिएको घट्नाले उनलाई गुमनाम हुन दिएको छैन । यस्तैमा एकपटक फेरि उनी लभ लाइफका कारण मिडियामा चर्चाको पात्र बनेकी छन् ।
निर्देशकदेखि गायकसम्मको प्रेममा डुबिसकेकी सुष्मा केही समयदेखि मिस्टर नेपालका विजेताको प्रेममा छिन् । तीन दिन अगाडि उनले आफ्नोे इन्स्टाग्राममा प्रेमीसँगको एक तस्विर शेयर गर्दै ‘माया सधैं हामीसँगै रहिरहोस्। यो सबै कुराको उत्तर पनि हो’ भनेर लेखेकी थिइन् । उनका नयाँ प्रेमी २०१७ का मिस्टर नेपाल अक्षयजंग रायमाझी हुन् । हाल उनी ‘जिम ट्रेनर’ रहेको बताइएको छ ।
शनिवार राजधानीको पाँचतारे होटल सोल्टीमा भएको ‘नेपाल मिडिया अवार्ड’ मा उनी प्रेमी रायमाझीकै साथमा पुगेकी थिइन् । नयाँ प्रेमीलाई लिएर उनी पहिलो सार्वजनिक कार्यक्रममा देखिएकाले मिडियाका क्यामेराहरुले यो जोडीको छायाँ पनि पछ्याएको थियो । अवार्ड कार्यक्रममा प्रस्तुती दिनका लागि सुष्मा होटलको एक कोठामा तयार हुँदै गर्दा प्रेमीले भने उनको पहरेदारी गरेका थिए ।
विगत लामो समयदेखि सुष्माको हातमा फिल्म छैन । कोभिडअघि देश तथा विदेशमा हुने सांस्कृतिक कार्यक्रममा नृत्य प्रस्तुतीका लागि उनलाई बेला बखतमा प्रस्ताव आउने गरेका थिए । तर, कोरोनाले गर्दा उनी घरमै सीमित हुनु परेको छ । ‘विन्दास, चलेछ बतास सुस्तरी, के यो माया हो, बाउन्स, सकस, संजोग, साली कस्को भेना’ को लगायतको फिल्ममा उनले अभिनय गरेकी छन् ।

