.jpg)
नेपाली फिल्मको एउटा कालखण्ड नै आफ्नो काँधमा बोकेर हिँडेका लोकप्रिय नायक राजेश हमाल पछिल्लो समय अभिनयमा उत्ति सक्रिय छैनन् । बेला बखतमा म्यूजिक भिडियोमा झुल्किने गरेका भए पनि उनले फिल्ममा अभिनय नगरेको चार वर्षभन्दा बढी भइसकेको छ । यद्यपि, उनले नयाँ फिल्म ‘सत्यम्’ भने साइन गरेका छन् । जुन फिल्म माघबाट छायांकन जाने तयारीमा छ ।
राजेश हमालको युगपछि नेपाली फिल्मले धेरै कलाकार पायो र यो क्रम जारी नै छ । कुनै बेला उनले एकछत्र राज गरेको क्षेत्रमा अहिले नयाँ पुस्ताका कलाकारहरुको हालीमुहाली छ । तर, अहिलेका चल्तीका कलाकारहरुले के राजेश हमालको जस्तो वजन बनाउन सक्लान् ? के फेरि नेपाली फिल्मले राजेश हमाल पाउन सक्ला ? अचेल यो विषयमा चर्चा र विश्लेषण हुँदै आएको छ ।
राजेश हमाल भने आफू जस्तो कलाकार फिल्म क्षेत्रले पाउँछ वा पाउँदैन भन्ने कुरा महत्त्वपूर्ण र आवश्यक नभएको बताउँछन् । अहिले नेपाली फिल्ममा धेरै राम्रो कलाकारहरु रहेको र लोकप्रियता पनि हासिल गरेको देख्दा अत्यन्त खुसी लाग्ने बताए । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले पल शाह, प्रदीप खड्का र अनमोल केसीमा आफूले राम्रो सम्भावना देखेको बताएका छन् ।
श्रीमतीको साथमा अन्तर्वार्ता दिन पुगेका उनले बच्चाको विषयमा पनि आफ्नो धारणा राखेका छन् । विवाहको समयदेखि आफूहरु प्लानिङ अनुसार नै चलिरहेको तर भविष्यमा बच्चा नै हुँदैन भन्ने चाहिँ नभएको हमालले बताए । उनले चाँडै आफूहरुले केही निर्णय गर्ने पनि जानकारी दिएका छन् । त्यस्तै, मधु भट्टराईले सांकेतिक रुपमा आफूहरु बच्चाको प्लानमा रहेको बताएकी छन् ।

