एक समय नेपाली फिल्ममा खलपात्र (भिलेन) को भूमिकामा रुचाइएका कलाकार हुन्, पुष्कर भट्ट । रुपरंग र जिउडालले पनि उनलाई भिलेनको भूमिका निर्वाह गर्न साथ दिएको थियो । ‘भागी भागी नजाउ, अग्नि ज्वाला, गंगाजल, बाटुली, दोस्ती, फैसला, हिम्मतवाली’ लगायत एक सय बढी फिल्ममा अभिनय गरेका उनले दुई दर्जन बढी भोजपुरी फिल्ममा पनि काम गरेका छन् ।
(1).jpg)
विगत केही वर्षदेखि क्यानडालाई कर्मथलो बनाउँदै आएका पुष्करले आफ्नो कलाकारिता यात्रालाई भने पूर्णविराम लगाएका छैनन् । नेपाल आउने क्रममा फिल्ममा अभिनय गर्दै आएका उनी अब आफ्नो परिचयको दायरा फराकिलो बनाउँदैछन् । अभिनयमा आफूलाई प्रमाणित गरिसकेका उनले निर्देशनमा फड्को मारेका छन् । उनले हिन्दी गीतको म्यूजिक भिडियो निर्देशन गरेका हुन् ।
उनी निर्देशित ‘जिल्ला मुरादाबाद’ गीतको म्यूजिक भिडियो अंग्रेजी नयाँ वर्षको अवसर पारेर सार्वजनिक भएको छ । गायक प्रिन्स आनन्दको स्वर र शब्द रहेको गीतमा द किंगले संगीत भरेका छन् । भिडियोमा पुष्कर आफैं फिचर छन् । भिडियोको सुरुवातमा फिल्मको झैं कथा बुनिएको छ । राजनीतिक दाउपेचको कथा उठाइएको भिडियोमा पुष्कर भिलेनको भूमिकामा देखिएका छन् ।
म्यूजिक भिडियोमा उनीसँगै भारतीय मुलका कलाकारहरु सुखविंदर सिंह जसल, जगदीप बावा, परम हंस, गुलकरण सिंह र सलमान काजमीको पनि अभिनय छ । यूट्युब रिलिजको दुई दिनमा दुई लाख बढी भ्यूज बटुलेको गीतलाई दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । पहिलो निर्देशित म्यूजिक भिडियोलाई मिलेको प्रतिक्रियाबाट आफू निकै उत्साहित भएको पुष्करले बताए ।
गीतलाई दर्शकले रुचाएपछि पुष्करसहितको टिमले म्यूजिक भिडियोमा उठान गरेको कथामाथि वेब सिरिज बनाएको छ । ओटीटी प्लेटफर्म अमेजन प्राइममा रिलिज गर्ने उद्देश्यसहित निर्माण गरिएको वेब सिरिजलाई पुष्कर स्वयंले निर्देशन गरेका छन् भने मुख्य भिलेनको भूमिकामा उनी आफैं प्रस्तुत भएका छन् । ५ श्रृंखलाको वेब सिरिज बनाउन ठूलो खर्च भएको उनले जानकारी दिए ।
वेब सिरिजको बारेमा जानकारी दिँदै पुष्करले भनेका छन्, ‘म्यूजिक भिडियोमा मैले जुन कथा उठाएको छु, त्यसैमाथि वेब सिरिज बनाएका छौं । केही दिन अगाडि मात्र वेब सिरिजको ५ वटा भाग क्यानडामा छायांकन भएको छ । अब त्यसको सम्पादन कार्य सकेर अमेजन प्राइमलाई पठाउने तयारीमा छौं । अमेजनले मन पराएको खण्डमा वेब सिरिजको अन्य श्रृंखलाहरु पनि बन्नेछ ।’
.jpg)
‘जिल्ला मुरादाबाद’ गीतका गायक प्रिन्स आनन्दले नै वेब सिरिजको निर्माणसँगै मुख्य भूमिकामा अभिनय गरेका छन् । क्यानडामा व्यापार व्यवसायको क्षेत्रमा ठूलो साम्राज्य बनाएका उनले नेपाली कलाकारसँग सहकार्य गर्न पाउँदा खुसी व्यक्त गरे । उनले भने- ‘पुष्कर जीसँग म्यूजिक भिडियोपछि वेब सिरिजमा सहकार्य गर्न पाएँ । भविष्यमा उहाँसँग अरु कार्यहरुमा पनि सहकार्य हुनेछ ।’
कलाकार भट्ट सन् २०२० मा संसारकै महंगो गाडीमा पर्ने ‘लङम्यान्स् किया’ मोटरको क्यानडा ब्रान्ड एम्बास्डरमा नियुक्त भएका थिए । नेपाली कलाकारको यो सफलता देखेर प्रिन्स आनन्दले आफ्नो टेलिभिजन ‘विएम प्राइम’ मा उनलाई अन्तर्वार्ताका लागि बोलाएका थिए । त्यसै क्रममा उनीहरुबीच चिनजान भएको थियो । प्रिन्स आनन्दसँग सहकार्य गर्न पाएकोमा पुष्कर खुसी छन् ।

