
कुनै बेला फिल्म र रंगमञ्चमा सक्रिय रहेकी अभिनेत्री उषा रजक विवाह बन्धनमा बाँधिएपछि श्रीमानको साथमा कीर्गिस्थान उडेकी थिइन् । नेपालमा रहँदा ‘इकु’, ‘कुसुमे रुमाल २’, ‘कथा’ लगायतका फिल्ममा अभिनय गरेकी उनको कीर्गिस्थान पलायन भएपछि अभिनयबाट दूरी बढ्यो । २०१८ मा फिल्म ‘कठपुतली’ बाट अफर आएपछि भने उनी कीर्गिस्थान छाडेर नेपाल आएकी थिइन् ।
अब उनी अभिनय छाडेर सदाका लागि कीर्गिस्थान जाने सोचमा छैनन् । कलाकारहरु आर्थिक रुपमा पनि सबल हुन सक्ने अवस्था आएकाले अभिनयलाई निरन्तरता दिने उनको योजना छ । जुन फिल्मका लागि उनी कीर्गिस्थान छाडेर नेपाल आएकी थिइन्, त्यहीँ फिल्मले उनलाई सफलताको सुःख दिएको छ । शुक्रवारबाट प्रदर्शनरत ‘कठपुतली’ मा उनको अभिनयको प्रशंसा भइरहेको छ ।
समीक्षकहरुले उनको कमब्याकलाई सार्थक भनेका छन् । उनको नेवारी टोन, डाइलग डेलिभरी र एक्सप्रेसनले दर्शकलाई बाँधेर राख्छ । उनी फिल्मको मेरुदण्ड हुन् भन्दा पनि फरक पर्दैन । रिलिजपूर्व प्रचार-प्रचारमा राम्रो दौडिएकी उनी शुक्रवार र शनिवार फिल्मले हाउसफुलको व्यापार गरेपछि उत्साहित देखिएकी छन् । आफ्नो अभिनयको प्रशंसाले उनलाई थप खुसी तुल्याएको छ ।

फिल्मले समीक्षात्मक र व्यवसायिक सफलता हासिल गर्दै गर्दा उषा रजकले ‘मिसेस नेपाल वर्ल्ड २०२१’ को प्रतियोगितामा ‘मिसेस नेपाल इन्टरनेशनल’ को उपाधि पनि जितेकी छन् । अब उनले सिंगापुरमा हुने ‘मिसेस इन्टरनेशनल’ मा सहभागिता जनाउनेछिन् । एकातिर फिल्मको सफलता अनि अर्कोतिर ‘मिसेस नेपाल इन्टरनेशनल’ को उपाधि, उषालाई ‘दुवै हातमा लड्डू’ झैँ भएको छ ।

