पुषको अन्तिम साताबाट छायांकन सुरु हुन लागेको फिल्म ‘लाखे’ मा कलाकार भित्रिने क्रम रोकिएको छैन । सुनिल थापा, सौगात मल्ल, अनुपविक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, विजय बराल, वर्षा राउत अनुबन्ध भइसकेको फिल्ममा अर्का अभिनेता रोहित रुम्बाको पनि प्रवेश भएको छ । शनिवार निर्माण टिमले उनलाई मुख्य भूमिकामा अनुबन्धित गरेको हो ।
‘लाखे’ को कथावस्तु र आफ्नो चरित्र मन परेकोले फिल्ममा जोडिएको रोहितले बताए । उनले यसअघि ‘तोरी लाउरे’, ‘विरानो मायो’, ‘राम जाने’, ‘नेप्टे’ लगायतका फिल्ममा अभिनय गरिसकेका छन् । उनले करीब तीन वर्षपछि अभिनयमा कमब्याक गर्न लागेका हुन् । ‘लाखे’ मा रोहितसँगै सन्जय थापा र सन्जोग राणा पनि कलाकारको रुपमा भित्रिएको निर्देशक सम्राट बस्नेतले जानकारी दिए ।

हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्ममा रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, रुपेश झा, चक्र बहादुर बिष्ट, सुजन ए.परियार, श्रवण कुमार राणा, राजन भुजेल, अन्विशा खड्गी र बालकलाकार सिष्टम भण्डारी लगायतका कलाकारको पनि अभिनय रहनेछ । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा बन्ने फिल्मको निर्माता सिजन अर्याल हुन् ।
कथा समेत निर्माता अर्यालकै रहेको फिल्ममा गणेश मल्ल ठकुरी प्रस्तुकर्ता र हरि मल्ल ठकुरी कार्यकारी निर्मातामा छन् । ठूलो बजेटमा निर्माण हुन लागेको फिल्मको दीलिप पन्त प्रोडक्सन डिजाइनर छन् । फिल्मको नाम ‘लाखे’ भए पनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परामाथि फिल्म नसमेटिएको निर्देशक बस्नेतले बताए । उनले यसअघि फिल्म ‘पासवर्ड’ को निर्देशन गरेका थिए ।

