.jpg)
अहिलेका चर्को माग भएका नायक हुन्, दयाहाङ राई । मुख्य भूमिकामा अभिनय गरेका प्रायः फिल्म असफल भए पनि उनको माग भने घटेको छैन । कोभिडअघि उनले आधा दर्जन फिल्म साइन गरेका थिए । अहिले तिनै फिल्मको छायांकन गर्न उनलाई भ्याइनभ्याइ छ । मंसिरमा ‘कबड्डी ४’ को छायांकन सकेका उनी यतिबेला फिल्म ‘गाउँ आएको बाटो’ को छायांकनमा व्यस्त छन् ।
भोजपुरको ग्रामिण क्षेत्रमा छायांकन भइरहेको फिल्ममा दयाहाङ गाउँले भूमिकामा छन् । शनिवार निर्माण टिमले सुटिङ सेटबाट उनको लुक्स सार्वजनिक गरेको छ । सार्वजनिक तस्विरमा उनको शिरमा ढाका टोपी, घाँटीमा गलबन्दी र खुट्टामा गोल्डस्टार सूज देख्न सकिन्छ भने पृष्ठभूमिमा खरले छाएको घर देखिएको छ । उनको छेउमा नायिका पशुपति राई र एक बाल कलाकार छन् ।
निर्माण टिमले फिल्मको कथासारको बारेमा पनि जानकारी दिँदै क्याप्सनमा लेखेको छ, ‘सडक आएपछिको एक परिवारको कथा । माइला, माइली अनि बिन्द्रेको कथा ।’ दश वर्षपछि निर्देशनमा फर्किएका नविन सुब्बा निर्देशित यस फिल्ममा खानुमा राई, केशव राई, प्रमिशा राई, प्रेम सुब्बा लगायत पनि मुख्य भूमिकामा छन् । मार्किन कापरोनले फिल्मको छायांकन गरिरहेका छन् ।
महेश राई र नविन सुब्बाको स्क्रिप्ट रहेको फिल्मको निर्मातामा अमोद राई रहेका छन् । त्यस्तै, कार्यकारी निर्मातामा नेपालबाट सञ्जु राई, हङकङबाट देवराज राई, यूकेबाट नरहाङ राई र अमेरिकाबाट भीम राई रहेका छन् । हङकङ, मकाउ, नेपाल, यूके, अमेरिका, बेल्जियम, साउथ कोरिया, नेदरल्यान्ड, पोर्चुगल र जर्मनी निवासी व्यक्तिहरु फिल्मको सह-निर्मातामा रहेका छन् ।

