.jpg)
दिन्श पाल्पालीको निर्देशनमा बनेको फिल्म ‘चिसो एस्ट्रे’ को टिजर सार्वजनिक भएको छ । गाउँको ठिटोलाई सहरिया बन्ने रहर जागेपछि कसरी गलत काममा फस्छ भन्ने टिजरमा देखाइएको छ । फिल्मले काठमाडौँ सहरलाई चिसो एस्ट्रेका रुपमा प्रतिविम्बित गरेको छ । आधुनिक बन्न खोज्दा आफैंलाई गुमाउन पुग्ने पात्रको कथा फिल्म निर्माण भएको निर्देशक पाल्पालीले जानकारी दिए ।
‘एउटा गाउँले ठिटो सहरी ठिटो बन्ने चक्करमा कसरी चुरोटको ठुटो बन्छ, फिल्म यही दर्शनमा केन्द्रित रहेको छ,’ दिन्शले भने । दिन्शले यसअघि ‘बालकृष्ण सम : अनटोल्ड स्टोरी’ फिल्मको निर्देशन गरेका थिए, जुन काठमाडौं पर्वतीय फिल्म महोत्सव (किम्फ) सँगै थाइल्यान्ड, क्यालिफोर्निया, चीन लगायतका देशका फिल्म महोत्सवमा छनोट भई विभिन्न अवार्ड जित्न सफल भएको थियो ।
चैत ४ मा सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्ममा दिव्य देव, नवीन लम्साल, निकुन श्रेष्ठ, सुशील राज पाण्डे, रवीन तामाङ र सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । कंगारु क्रिएसन र लोकल सिनेमाको संयुक्त ब्यानरमा निर्मित फिल्मलाई महेशबाबु तिमल्सिनाले प्रस्तुत गरेका हुन् । निर्माणमा भने महेश बाबुलाई प्रबिन स्याङ्बा र सुष्मिता पराजुलीले सघाएका छन् ।
फिल्मको सह-निर्मातामा रुपेश ढुंगाना र नविन ढुंगाना रहेका छन् । फिल्ममा दिन्शको लेखन तथा गीत रचना, अजर जंगमको संगीत, उज्जल बस्ताकोटीको छायांकन, उज्जवल ढकालले सम्पादन, नोबेल फ्रिक्सको पाश्र्व संगीत, कला संग्रौलाको आर्ट डिरेक्सन छ । फिल्मलाई काठमाडौं भ्यालीमा जिजिए ग्रुपले वितरण गर्नेछ भने काठमाडौंबाहिर एफडी कम्पनीले वितरण गर्नेछ ।

