कोरोना महामारीका कारण करीब २ वर्ष बन्द अवस्थामा रहेका सिनेमा हलहरु गत असोज २१ गतेदेखि पूर्ण रुपमा सञ्चालनमा आए । तर, तत्काल दर्शक आउने हुन् वा होइनन् भन्ने अन्योलताले दशैं, तिहार जस्ता पर्वमा आशा गरिएका नेपाली फिल्म रिलिज नै भएनन् । बलिउड फिल्म ‘सूर्यवंशी’ ले हलमा दर्शक फर्काएपछि भने नेपाली निर्माताहरु फिल्म रिलिज गर्न जोसिएका छन् ।
‘सूर्यवंशी’ पछि केही थान नेपाली फिल्म रिलिज भए तर कुनैले हलमा दर्शकको भीड फर्काउन सकेन । चलेका कलाकारको फिल्म, विश्वास कमाएको ब्यानर र हिट फिल्मका सिरिज रिलिज नहुनाले पनि नेपाली फिल्मले हलमा दर्शक नतानेको कतिपयको विश्लेषण थियो । शुक्रवार (आज) बाट फरक धार र ट्रेलरले आश जगाएको फिल्म ‘कठपुतली’ देशव्यापी प्रदर्शनमा आएको छ ।
.jpg)
बुधवार राजधानीमा भएको प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया बटुलेको फिल्मले ठूलो संख्यामा सिंगल हल र देशभर मल्टीप्लेक्सहरुमा सयभन्दा बढी शो पाएको छ । नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले शुक्रवारका लागि आफ्नो ९ मेजर स्टेशनमा कूल १४ शोज दिएको छ । शुक्रवार फिल्मको बुकिङ राम्रो रहेकाले शनिवारबाट क्यूएफएक्सले शो संख्या थप गर्ने देखिएको छ ।
बिग मुभिज, क्यूज सिनेमाज्, विएसआर मुभिज, वान सिनेमाज्, एफक्यूब, सिडिसी सिनेमाज्, आइएनआइ सिनेमाज्, कीर्तिपुर सिनेप्लेस लगायतका मल्टीप्लेक्समा पनि फिल्मले राम्रो शो पाएको छ । यी मल्टीप्लेक्सहरुले शुक्रवारको बुकिङलाई मध्यनजर गर्दै शनिवारबाट शो बढाउने तयारी गरेको जानकारी प्राप्त छ । काठमाडौं र मोफसलमा फिल्मको शनिवारको बुकिङ पनि राम्रो छ ।
मिथिला शर्मा, गौरी मल्ल, कर्मा, उषा रजक, शिल्पा मास्के, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको मुख्य भूमिका रहेको फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् । पृथ्वी राना मगरले निर्माण गरेको फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । अष्ट्रेलियाका छायाँकार जोएल फ्रूमले फिल्म खिचेका हुन् । फिल्मले राजाहरुको शासन कालको कथा भनेको छ ।

