नेपाली फिल्मका पुराना निर्माता तथा निर्देशक हुन्, पृथ्वी राना मगर । ‘हंगामा’ र ‘परेनी माया जालैमा’ गरी दुई फिल्मको निर्माण गरेका उनी लामो समयदेखि हङकङमा विभिन्न व्यवसाय गर्दै आएका छन् । उनले निर्माण गरेको नयाँ फिल्म ‘कठपुतली’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ । भिमसेन लामाले निर्देशन गरेको फिल्ममा उनको २ करोड ३ लाख रुपैयाँ लगानी भएको छ ।
बाल्यकालदेखि नै फिल्मप्रति रुची भएका निर्माता मगर आफूलाई ‘पागल’ को संज्ञा दिन्छन् । ‘कठपुतली’ रिलिजको पूर्व सन्ध्यामा राजधानीमा एक लञ्चमा भेटिएका उनले घर-परिवारदेखि साथी-भाईसम्म सबैले आफूलाई ‘पागल’ भन्ने गरेको बताए । उनी भन्छन्, ‘निर्मातालाई सबैले पागल भन्छन् । म पागलै हो त के गर्ने ? फिल्मप्रति ममा प्यासन छिरेपछि निस्केन । त्यसैले म ‘पागल’ नै हो ।’

आफू बच्चैदेखि फिल्मप्रति पागल रहेको उनी सुनाउँछन् । उनी विगत सम्झँदै भन्छन्, ‘म ११ वर्षको हुँदा फिल्म हेर्नका लागि हल खोज्न लखनउमा हराएको थिएँ । म १६ वर्षको हुँदा फिल्म हेर्नका लागि गाउँबाट भागेको थिएँ । म हराएपछि आमाले मामालाई ‘हलमा गएर बस् त्यसलाई भेट्छस्’ भन्नुभएछ । म फिल्म हेरेर निस्कँदा मामालाई देखेँ । म फिल्मप्रति त्यो हदसम्म पागल थिएँ ।’
आफू लामो समयदेखि विदेशमा गएर बसेको भए पनि फिल्मप्रति आफ्नो पागलपन अझै कम नभएको उनको भनाई छ । अघिल्ला दुई फिल्मबाट डुबेर उठ्ने कोशिश गरेको बताउँदै निर्माता लामाले ‘कठपुतली’ ले राम्रो कमाई गरेको खण्डमा आफूलाई नयाँ फिल्म बनाउनका लागि हौसला मिल्ने बताएका छन् । तर, फिल्म नचले पनि ढिलो-चाँडो नयाँ फिल्म बनाउने उनको योजना छ ।
यो फिल्ममा मिथिला शर्मा, उषा रजक, शिल्पा मास्के, गौरी मल्ल, कर्मा, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेको फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् । हरर जनरामा निर्माण भएको फिल्मलाई पहिलो र दोस्रो ट्रेलरबाट सकारात्मक प्रतिक्रिया मिलेको छ ।

