यही शुक्रवार (पुष १६ गते) बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कठपुतली’ मा मुख्य भूमिकामा अभिनय गरेकी मिथिला शर्माले फिल्मको कथा अर्गानिक रहेको बताएकी छन् । रिलिजको पूर्व सन्ध्यामा मंगलवार राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले हिजोका दिनदेखि आजसम्म भोगिरहेको कथालाई नै उठाएकाले दर्शकलाई फिल्म मनपर्ने विश्वास व्यक्त गरिन् ।
‘मैले धेरै फिल्ममा अभिनय गरेँ तर हरेक नयाँ फिल्म गर्दा पहिलो दिन पहिलो फिल्मको जस्तै अनुभव हुन्छ,’ मिथिला शर्मा भन्छिन्, ‘कठपुतली’ मा हामीले हाम्रै मौलिक कथावस्तु पस्किने प्रयास गरेका छौं । हामीलाई आफ्नै कथावस्तुमा किन फिल्म बनाउनु हुन्न भनेर धेरैले प्रश्न गर्नुहुन्थ्यो । यसपटक हामीले आफ्नै कथावस्तुमा बनेको फिल्म लिएर आउन लागेकाले मनमा डरसँगै उत्साह छ ।’

अभिनेत्री उषा रजक भने पहिलो पटक हरर फिल्ममा काम गर्दा फरक अनुभव बटुलेको बताउँछिन् । करीब ८ वर्षपछि फिल्ममा फर्किएकी उनले आजसम्म हरर फिल्म नहेरेको भए पनि हरर फिल्ममा काम गर्दा रमाइलो लागेको बताइन् । फिल्मको रिलिज नजिकिँदै गर्दा दशैं-तिहार आएको जस्तै हर्षले मन गदगद भएको बताउँदै उनले फिल्म मौलिक कथामा बनेको दाबी गरेकी छन् ।
अर्की अभिनेत्री शिल्पा मास्के ‘कठपुतली’ नेपाली फिल्म क्षेत्रकै लागि नयाँ हुने बताउँछिन् । यो फिल्मले हरर-थ्रिलर जनराको फिल्म निर्माणका लागि ढोका खोल्ने उनको विश्वास छ । उनले पनि पहिलो पटक हरर जनराको फिल्ममा काम गरेकी हुन् । फिल्मकी लेखिका तथा कार्यकारी निर्माता सम्पदा मल्लले दर्शकलाई कथामा नयाँपन दिने उद्देश्यले नै फिल्म बनाएको जानकारी दिइन् ।
सम्पदा भन्छिन्, ‘फिचर फिल्म लेखनमा यो मेरो पहिलो अनुभव हो । हाम्रो यो पहिलो प्रयास भएकाले धेरै त्रुटिहरु हुन सक्छन् । दर्शकको साथ र मायाले त्रुटिलाई सुधार गर्दै अगाडि बढ्ने प्रयास गर्नेछौं । तर, म जनरामा भने फस्दिनँ । मैले भन्ने कथा यूनिक हुनुपर्छ भन्ने लाग्छ । त्यसैले संसारको कुनै पनि ठाउँमा बन्ने फिल्मसँग मैले लेख्ने कथा मिल्नु हुँदैन भन्नेमा सजग रहने गरेको छु ।’

पहिलो पटक फिचर फिल्मको निर्देशन गरेका भिमसेन लामाले फिल्मको प्रदर्शन मिति नजिकिँएसँगै आफू उत्साहित र नर्भस रहेको बताए । लामो समयदेखि लण्डनमा बस्दै आएका उनले नेपालको अर्गानिक कथालाई विश्वभर चिनाउने उद्देश्यले ‘कठपुतली’ निर्माण गरेको बताएका छन् । आफू फिल्मको माध्यमबाट नेपाली भाषा, कला, संस्कृतिलाई प्रमोट गर्न चाहने उनको भनाई छ ।
उनी भन्छन्, ‘हाम्रो देशमा जुन कुरा छ त्यो हलिउड र बलिउडमा छैन । अनि, हामीले हाम्रो कथा नभन्ने हो भने के भन्ने ? यो फिल्म निर्माण गर्नुको उद्देश्य नेपाली कल्चर र भाषालाई संसारमा पुर्याउनु र राम्रो फिल्म बनाउनु थियो । यसमा कति सफल भयौं भन्ने त दर्शकको प्रतिक्रियापछि थाहा हुनेछ ।’ यसअघि उनी निर्देशित सर्ट फिल्म ‘च्यान्टी’ ले थुप्रै अन्तर्राष्ट्रिय अवार्डहरु जितेको थियो ।
फिल्म रिलिजका लागि हङकङबाट नेपाल आएका निर्माता पृथ्वी राना मगरले नेपाली फिल्मले पनि विदेशमा गएर प्रतिस्पर्धा गर्न सकोस् भन्ने उद्देश्यले ‘कठपुतली’ को निर्माण गरेको जानकारी दिए । उनले भने- ‘फिल्म २ करोड बढीको लगानीमा बनेको हो । तर, मैले कहिल्यै पैसालाई महत्त्व दिइनँ । नेपाली फिल्म विदेशमा गएर प्रतिस्पर्धा गर्न सकोस् भन्ने उद्देश्यले फिल्म बनाएको हुँ ।’

यो फिल्ममा मिथिला, उषा र शिल्पाका अलावा गौरी मल्ल, कर्मा, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले खिचेको फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । पुष १६ गते आउन लागेको बलिउड फिल्म ‘जर्सी’ को प्रदर्शन मिति पोस्टपोन्ड भएपछि ‘कठपुतली’ लाई ठूलो राहत मिलेको छ ।

