
‘मेरो एउटा साथी छ, इन्टु मिन्टु लण्डनमा’ जस्ता सफल फिल्मको निर्माण गरिसकेको आइकोर फिल्म्सले विदेशी फिल्मको नेपाल वितरण सुरु गरेको छ । कम्पनीले वितरण गर्ने पहिलो हलिउड फिल्म ‘द म्याट्रिक्स रिसुरेक्सन’ यही शुक्रवारबाट मल्टीप्लेक्सहरुमा प्रदर्शन हुँदैछ । कम्पनीले बुधवार विज्ञप्ति जारी गर्दै फिल्म निर्माणसँगै अब वितरणलाई पनि निरन्तरता दिने उल्लेख गरेको छ ।
लाना वाचाओक्सीले निर्देशन गरेको फिल्मको प्रमुख भूमिकामा किनु रिभ्स र क्यारी एने मोस छन् । यसको अघिल्ला तीन श्रृंखला विश्वभर सर्वाधिक रुचाइएको थियो । आइकोर प्रालीका निर्देशक प्रज्वल जबराले ‘म्याट्रिक्स’ सिरिज आफ्नो मनपर्ने साइन्स फिक्सन भएको र चौंथो श्रृंखलाले सम्बन्धित फिल्मको जनराको स्वाद दिनुका साथै दर्शकहरुलाई विगतलाई फर्काउने विश्वास व्यक्त गरे ।
आइकोर फिल्मस्ले काठमाडौंको नयाँ बानेश्वरमा वान सिनेमाज् नामक हल सञ्चालनमा ल्याइसकेको छ । यसको दोस्रो शाखा चाँडै कालीमाटीमा खुल्दैछ । यो कम्पनीले निर्माण गरेको फिल्म ‘आइएम ट्वान्टीवान’ रिलिजको तयारीमा छ भने फिल्म ‘मेरो एउटा साथी छ’ को सिक्वेल पनि निर्माण गर्दैछ । अन्य विदेशी फिल्म नेपाल ल्याउने विषयमा पनि कुराकानी भइरहेको जबराले बताएका छन् ।

