सिनेमा घरहरुमा नियमित रुपमा फिल्महरु प्रदर्शन हुन थालेसँगै यूट्युबमा पनि फिल्म रिलिज हुने क्रम बढेको छ । यसै महिना ‘यात्रा, लम्फू, घामड शेरे, कबड्डी कबड्डी कबड्डी, हजार जुनीसम्म’ लगायतका फिल्म यूट्युबमा सार्वजनिक भए । बक्सअफिसमा पानी भन्न नपाएका फिल्म हुन् वा निर्माताले बोराभरी पैसा खाँदेका फिल्म, सबैले यूट्युबमा दर्शकको उल्लेख्य साथ पाएका छन् ।

चार वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘मंगलम’ पनि यही आइतवारबाट यूट्युबमा उपलब्ध भएको छ । हलमा निकै रुचाइएको फिल्मलाई यूट्युबमा पनि दर्शकहरुले प्रतिक्षा गरेर बसेका थिए । यसैले होला, यूट्युबमा सार्वजनिकसँगै फिल्म हेर्न दर्शक ओइरिएका छन् । चार दिनमा फिल्मलाई १८ लाखभन्दा बढीले हेरिसकेका छन् भने ५२ हजार बढी लाइक्स मिलेको छ ।
फिल्मले यूट्युबमा भ्यूज मात्र होइन, प्रतिक्रिया पनि हेर्न र सुन्न लायक पाएको छ । फिल्मलाई प्राप्त २२ सयभन्दा बढी कमेन्टमा अधिकांशले प्रशंसामा शब्द खर्चिएका छन् । फिल्मको कथावस्तु, कलाकारको अभिनय र छायांकनलाई दर्शकले विशेष रुचाएका छन् । कमेन्ट लेख्ने अधिकांशले अभिनेता पुष्प खड्का र अभिनेत्री मिथिला शर्माको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।
‘मंगलम’ लाई पुष्पको करिअरकै टर्निङ पोइन्ट मान्ने गरिन्छ । यो फिल्मबाट राष्ट्रिय चलचित्र पुरस्कार समेत जितेका उनी आजका दिनसम्म यही फिल्मको ब्याज खाएर बसेका छन् । प्यारालाइसिस भएको युवकको भूमिकामा उनले गरेको जीवन्त अभिनयले दर्शक रुवाउँछ । फिल्ममा उनको आमाको भूमिका मिथिलाले निर्वाह गरेकी छन् भने श्रीमतीको भूमिकामा शिल्पा पोखरेल छिन् ।
नारी संवेदनमाथि फिल्म बनाउन खप्पिस मानिने नवल नेपाल निर्देशित फिल्ममा नीर शाह र पृथ्वीराज प्रसाईंको पनि मुख्य भूमिका छ । फिल्ममा अभिनेत्री साम्राज्ञी आरएल शाह केमियो भूमिकामा छिन् । छबिराज ओझाले निर्माण गरेको फिल्मलाई विष्णु कल्पित घिमिरेले खिचेका हुन् । दीपक शर्माको संगीत रहेको फिल्मको ‘पर्ख पर्ख मायालु’ बोलको गीत अहिले पनि उतिक्कै लोकप्रिय छ ।

