कोरोना महामारीको समयमा फिल्म सम्बन्धि सम्पूर्ण काम ठप्प हुँदा अधिकांश कलाकार फुर्सदिला र बेरोजगार भएर घरमै बस्न बाध्य भए । तर, सुपरस्टार अनमोल केसीले महामारीको समयमा पनि विभिन्न ब्रान्डसँग जोडिएर राम्रो आम्दानी गरे । यसैक्रममा, उनी महंगो पारिश्रमिक लिएर ‘इम्पायर इन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेस’ को ब्रान्ड एम्बास्डरमा नियुक्त भएका छन् ।

काठमाडौंको एभरेष्ट होटलमा बुधबार आयोजना भएको पत्रकार सम्मेलन ‘इम्पायर’ का प्रमुख स्वतन्त्र प्रताप शाह र अनमोलबीच कागजी सम्झौता भएको हो । अनमोलले विश्वास कमाइसकेको ब्रान्डसँँग जोडिन पाएकोमा खुसी व्यक्त गरेका छन् । दर्शकहरुले विश्वास गरेको ब्रान्डसँग मात्र आफू जोडिने गरेको बताउँदै उनले स्वतन्त्र प्रतापसँग फिल्ममा पनि सहकार्य हुनसक्ने संकेत गरे ।
उनले आफू भविष्यमा अध्ययनका लागि विदेश जान सक्ने बताए । उनी भन्छन्, ‘यूट्युबबाट पनि अहिले अध्ययन गर्न सकिन्छ । मलाई नेपालमै केही गरुँ भन्ने चाहना छ । तर, पछि अध्ययनका लागि विदेश जान सक्छु । किनकि, अध्ययनको कुनै सीमा छैन । जति पढे पनि मान्छेलाई पुग्दैन । अहिले चाहिँ म नेपालमै ठिक छु ।’ विदेश गएर पढ्नु नराम्रो नभएको अनमोलको भनाई छ ।
विदेशमा प्राप्त गर्ने ज्ञान र सिपलाई नेपालमा लगाउन उनले जोड दिएका छन् । उनी भन्छन्, ‘विदेश त्यतिक्कै विकशित भएको त होइन होला, त्यहाँ केही न केही एक्स्ट्रा ज्ञान छ । त्यसलाई नेपाल ल्याएर केही गर्न सक्यौं भने एकदमै राम्रो हुन्छ ।’ ब्रान्ड एम्बास्डर हुँदा विदेशी कलाकारभन्दा आफूले धेरै कम पारिश्रमिक लिने गरेको बताउँदै उनले आफ्नो नाम जस्तो भ्यालू नभएको पनि बताए ।

इम्पायरका प्रमुख स्वतन्त्रले अनमोलसँगको व्यक्तिगत सम्बन्ध र उनको लोकप्रियतालाई देखेर नै ब्राण्ड एम्बास्डर नियुक्त गरेको बताए । अनमोलसँग जोडिँदा संस्थाको लक्षित विद्यार्थीमाझ पुग्न सकिने उनको विश्वास छ । उनले चाँडै अनमोलसँग अन्य कुरामा पनि सहकार्य हुने जानकारी दिएका छन् । इम्पायर एजुकेशनले अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थीहरु पठाउने गरेको छ ।

