Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कठपुतली’ हलिउड स्तरको बनेको छ : कर्मा

फिल्मीखबर, काठमाडौं, 2021/12/21
Karma
 
अभिनयमा पारंगत मानिने भर्सटायल नायक कर्माले पहिलो पटक हरर जनरामा अभिनय गरेको फिल्म ‘कठपुतली’ यही पुष १६ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयारीमा छ । यसअघि सस्पेन्स-थ्रिलर फिल्ममा काम गरेता पनि पहिलो पटक हरर फिल्ममा काम गर्दा बेग्लै अनुभव र अनुभूति भएको उनी बताउँछन् । हरर जनरामा यो फिल्म हलिउड स्तरको बनेको उनको दाबी छ । 
 
फिल्मको बारेमा कर्मा भन्छन्, ‘हामीले राजाको शासन कालमा महिलामाथि हुने शोषणको कथालाई गहिराइमा गएर प्रस्तुत गर्ने प्रयास गरेका छौं । नेपालको हरर फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा पनि पुर्‍याउनु पर्छ भने हामीले फिल्ममा काम गरेका छौं ।’ फिल्मको पोस्ट प्रोडक्सनको सम्पूर्ण काम लण्डनमा भएकाले टेक्निकल हिसाबले ‘कठपुतली’ अब्बल बनेको उनको विश्वास छ ।
 
कर्माले यो फिल्ममा नायिका उषा रजकसँग काम गरेका छन् । उनीहरुबीच यो पहिलो सहकार्य हो । तर, उनीहरुबीच चिनजान भने रंगमञ्चको बेलादेखि थियो । पहिलो पटक उषासँग काम गर्न पाउँदा खुसी लागेको कर्मा बताउँछन् । ‘म उषाको फ्यान नै हुँ । उसको ‘कथा’ भन्ने फिल्म मलाई मन परेको थियो । उसमा एकदमै उर्जा र केही गरौं भन्ने अठोटबाट म प्रभावित छु,’ उनी भन्छन् ।
 
‘कठपुतली’ को ट्रेलरलाई यूट्युबमा दर्शकबाट सकारात्मक प्रतिक्रिया मिलेको छ । तर, ट्रेलरमा तर्साउने सिन भएन भन्ने प्रतिक्रिया पनि आएका छन् । यस विषयमा कर्मा भन्छन्, ‘कमेडी फिल्म छ भने ट्रेलरले हँसाउनै पर्छ, हरर फिल्म हो भने ट्रेलरले तर्साउनु पर्छ भन्ने सोच नेपाली दर्शकहरुमा छ । तर, हामीले ट्रेलर मात्र सार्वजनिक गरेका हौं । फिल्ममा तर्साउने दृश्यहरु पर्याप्त छन् ।’ 
 
भिमसेन लामाले निर्देशन गरेको यस फिल्मलाई अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले छायांकन गरेका हुन् । पृथ्वी राना मगरले निर्माण गरेको फिल्ममा कर्माका अलावा गौरी मल्ल, मिथिला शर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतको अभिनय छ । सम्पदा मल्लले लेखेको ‘कठपुतली’ को सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् ।
Most Visited News (monthly)