नेपालमा आयोजना हुने प्रायः फिल्म महोत्सवहरु शहर (काठमाडौं) केन्द्रित भइरहेको अवस्थामा सेलिब्रेटी नेपालले पहिलो पटक गाउँमा फिल्म महोत्सवको आयोजना गर्ने भएको छ । पर्यटन प्रवद्र्धनसँगै नेपाली फिल्मलाई ग्रामीण बजारमा पुर्याउने लक्ष्यसहित ‘नेपाल ग्रामीण फिल्म महोत्सव’ (नेरुफ) आयोजना गर्न लागिएको महोत्सवका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिएका छन् ।
आउँदो माघ अन्तिम साता तीन दिनसम्म आयोजना हुने महोत्सव कुन गाउँमा हुने भन्नेबारे केही दिनमा टुंगो लाग्ने बताइएको छ । महोत्सवमा गाउँले परिवेशमा निर्माण गरिएका स्वदेशी फिचर फिल्म, सर्ट फिल्म र डकुमेन्ट्रीलाई सहभागी गराएर ग्रामीण क्षेत्रका दर्शकसमक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ गर्ने र उत्कृष्ट फिल्मलाई राशीसहित अवार्ड प्रदान गरिने अध्यक्ष सापकोटाले बताए ।

उनले महोत्सवबारे जानकारी दिँदै भने- ‘महोत्सवमा विभिन्न भाषा-भाषिकासँगै मोबाइलबाट खिचिएका फिल्महरु समेत समावेश गरिनेछ । महोत्सवमा ग्रामिण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउनेछ भन्ने विषयमा अन्तरक्रिया तथा वर्कसप पनि गर्नेछौं । ग्रामीण क्षेत्रका दर्शकको नेपाली फिल्मप्रति आकर्षण बढाउनु नै महोत्सवको उद्देश्य हो ।’
प्रदर्शन गरिएका फिल्मसँग सम्बन्धित फिल्मकर्मी तथा ग्रामीण दर्शकबीच अन्तरक्रिया गरिने, गाउँले परिवेशमा फिल्म बनाउने विषयमा वर्कशप तथा मास्टर क्लास हुने, फिल्मकर्मीहरुको बीचमा ग्रामिण फिल्मको कथा तथा मौलिक फिल्म निर्माण सम्बन्धि अन्तरक्रिया हुने, उत्कृष्ट फिल्मलाई जुरी टिमको निर्णय अनुसार अवार्ड वितरण गरिने सेलिब्रेटी नेपालले जानकारी दिएको छ ।

