नेपाली, अंग्रेजी र गुरुङ गरी तीन भाषामा निर्माण भएको फिल्म ‘फिच्यो’ अर्थात् ‘कान्छी छोरी’ लाई विशेष शोमा दर्शकबाट उत्कृष्ट प्रतिक्रिया मिलेको छ । शनिबार सामाखुसीस्थित रानीदेवी पार्टी प्यालेसमा भएको शोमा उपस्थित दर्शकले देश विकासका लागि गाउँमै युवा जुट्न फिल्मले दिएको सन्देश मार्मिक लागेको बताएका थिए । दर्शकले कलाकारहरुको अभिनय पनि रुचाएका छन् ।
.jpg)
फिल्मको विशेष शोमा लमजुङ घले समाजका अध्यक्ष दुतराज घले, गायक सहज कुमार घले, उत्तरी गोरखा सांस्कृतिक समाजकी अध्यक्ष सुनिला गुरूङ, तमु कलाकार संघ निवर्तमान अध्यक्ष राजु गुरूङ, गुरूङ फिल्मका नायक बुद्द गुरूङ, आनन्द गुरूङ, संगीतकार सन्तोष श्रेष्ठ लगायतको सहभागीता रहेको थियो । फिल्मको आउँदो १ जनवरीमा अमेरिकामा पनि विशेष शो हुँदैछ ।
फिल्ममा विश्वास गुरूङ, इन्द्र घले (काशी), टिकाराम घले, सीतादेवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ, पेम्बा छिरिड शेर्पा, सिर्जना गुरुङ, बिरुप घले लगायतको अभिनय रहेको छ । गुरुङ समुदायको रीति-रिवाज, भेषभुषा, चाल-चलनको कथामा निर्माण भएको फिल्मको लेखन, निर्देशन तथा सम्पादन विकाश घले गुरुङको हो ।
रेड ओसियन इन्टरटेन्मेन्टको प्रस्तुति रहेको फिल्ममा प्रकाश गुरुङ (काश) को छायाङ्कन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत छ । फिल्ममा नृत्य गोरे गुरुङको छ । शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धिमाया गुरुङ (ईराक) र अभिनाश यम.जि (मांगसुम) निर्माता रहेको यो फिल्मले बिग्रँदो सामाजिक परिस्थितिले मिहेनती युवालाई कसरी असर पुर्याउँछ भन्ने देखाएको छ ।

