Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘रामप्यारी’ हिरो भन्छन्, ‘काम मागेर हिँड्दिनँ’

फिल्मीखबर, काठमाडौं, 2021/12/20
अभिनेत्री रेखा थापाले निर्माण तथा अभिनय गरेको फिल्म ‘रामप्यारी’ बाट आभाष अधिकारीले नायकको रुपमा डेब्यू गरेका थिए । उनी रेखाकी दिदीका छोरा हुन् । यसैले उनले फिल्ममा सजिलै ब्रेक पाए । अरु निर्माता/निर्देशकलाई हात जोड्दै काम माग्नुपर्ने अवस्था भोग्नु परेन । तर, फिल्ममा प्रवेश गर्नभन्दा टिक्न गाह्रो छ । आभाषलाई पनि हिरो बन्नभन्दा टिकिरहन गाह्रो भएको छ । 
 
‘रामप्यारी’ मा इन्स्पेक्टरको भूमिका निर्वाह गरेका उनले अभिनयमा आफूलाई प्रमाणित गर्न भने सकेनन् । जसका कारण ‘रेखाले जबरजस्ती आभाषलाई नातेदार भएकाले हिरो बनाएको’ टिप्पणी भयो । यो फिल्मपछि आभाषलाई नयाँ फिल्मबाट अफर पुगेको छैन । बीचमा उनले थिएटरमा गएर अभिनय सिकेका थिए । तर अझै उनीमाथि निर्माता/निर्देशकले विश्वास गर्न सकेको देखिन्न ।
 
Avash Adhikari
 
आजभोली आभाष व्यापार व्यवसायतिर बढी व्यस्त छन् । आइतवारबाट उनले भक्तपुरमा ‘माछा हाउस’ सञ्चालनमा ल्याएका छन् । यही मौकामा उनले फिल्म अभिनयलाई निरन्तरता दिन नसकेको विषयमा पनि आफ्नो भनाई राखेका छन् । उनले ‘रामप्यारी’ मा आफूले आफूलाई अभिनयमा प्रमाणित गर्न नसकेको स्वीकार गर्दै इन्डस्ट्रीमा जति मान्छे चिनेको भएता पनि काम नमाग्ने बताए । 
 
उनी भन्छन्, ‘एक समय म फिल्म खेल्नकै लागि हिँडेको थिएँ । एउटा फिल्ममा काम पनि गरेँ । तर, त्यो फिल्ममा मैले आफूलाई कलाकारको रुपमा प्रमाणित गर्न सकिनँ । इन्डस्ट्रीमा जति नै मान्छे चिने पनि म काम मागेर हिँड्दिनँ । घरबाट पनि यस्तो नगर्न भन्नुभएको छ । आफूलाई प्रमाणित गरेर कसैले बोलायो भने काम गर्न जान पनि मज्जा आउँछ । फिल्म भनेको जोक होइन नी ।’
 
अहिले आफू अवसरको पखाईमा रहेको र भोलीका दिनमा काम गर्न पाए आफ्नो तर्फबाट उत्कृष्ट दिएर अभिनयलाई निरन्तरता दिने सोचमा रहेको उनी बताउँछन् । ‘पहिलो फिल्मपछि म थिएटरमा पनि गएको थिएँ । थिएटरले मलाई धेरै कुरा सिकाएको छ । अभिनय भन्ने कुरा एकदमै ‘टफ’ हो भन्ने कुरा थिएटरबाट सिकेको छु । त्यसैले अहिलेलाई अभिनय होल्ड गरेकै हुँ,’ उनले भने ।  
Most Visited News (monthly)