Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

राजेश हमाल भन्छन्, ‘टिकटकले घर-घरमा कलाकार जन्माएको छ’

फिल्मीखबर, काठमाण्डौ, 2021/12/19
नेपालमा टिकटकको लोकप्रियता बढ्दो क्रममा छ । इन्टरनेटको पहुँच हुने ठाउँमा टिकटक नबनाउने र नहेर्ने मानिस सम्भवतः भेटिँदैन । यही एपले धेरैको जीवन बदलेको छ । धेरैलाई घर न घाटको पनि बनाएको छ । आम मानिस मात्र होइन, टिकटकमा झुन्डिने नेपाली सेलिब्रेटीहरुको संख्या पनि निकै ठूलो छ । लकडाउनमा धेरैका लागि दिन काट्ने साथी नै टिकटक बनेको थियो ।
 
टिकटकको युगभन्दा अगाडि सेलिब्रेटीसँग प्रत्यक्ष भेट हुँदा मानिसहरु फोटो खिच्न हानाथाप गर्थे । तर, अहिले टिकटकका लागि भीड लाग्ने गरेको छ । जसले गर्दा बाटो होस् वा पार्किङ स्थल, जहाँ पनि कलाकारसँग टिकटक बनाउन तयार हुन्छन् मानिसहरु । टिकटक बनाइरहने कलाकारलाई त अप्ठ्यारो नलाग्ला तर बानी नै नभएका कलाकारहरुका लागि यो प्रसब पीडाभन्दा कम हुन्न । 
 
rajesh hamal
 
सुपरस्टार राजेश हमाललाई पनि बेला-बखतमा फ्यानहरुसँग टिकटक बनाइरहेको देख्न पाइन्छ । तर, त्यो उनको रहरभन्दा पनि बाध्यता हो । फ्यानले टिकटक बनाउनका लागि आग्रह गर्दा उनी ‘मुन्टो बटारेर’ हिँड्न सक्दैनन् । अनि, अप्ठ्यारै लागे पनि हात-मुख हल्लाइदिन्छन् । हालै एक कार्यक्रममा हमालले आफूसँग दर्शकहरुले फोटो मात्र खिचिदिए हुन्थ्यो जस्तो लाग्ने बताएका छन् ।
 
‘म विभिन्न ठाउँमा जाँदा व्यक्तिहरु मोवाइल ल्याएर टिकटक बनाउन आग्रह गर्नुहुन्छ । म कलाकार भएको व्यक्तिलाई टिकटकमा अभिनय गर्न अप्ठ्यारो लाग्छ तर सर्वसाधारणहरु जुन अवस्थामा भए पनि टिकटक ‘अन’ गरेर नाच्न थाल्नुहुन्छ,’ उनले भने, ‘मलाई टिकटक बनाउन सहज लाग्दैन । मलाई फोटो मात्र खिचिएदिए हुन्थ्यो जस्तो लाग्छ । तर, प्रायःले टिकटक नै बनाउन खोज्नुहुन्छ ।’
 
टिकटकले घर-घरमा कलाकार जन्माएको उनको भनाई छ । उनी अगाडि भन्छन्, ‘पहिला फिल्मको छायांकनका लागि विभिन्न ठाउँमा जाँदा स्थानीय व्यक्तिहरुलाई फिल्ममा अभिनय गर्न आग्रह गर्थ्यौं । तर, मानिसहरु लाज मान्थे । अहिले टिकटकले घर-घरमा कलाकार जन्माएको छ । नातीदेखि बाजेसम्म टिकटकमा नाच्न तयार हुन्छन् । टिकटकले ल्याएको यो ठूलो परिवर्तन हो ।’ 
 
राजेश हमालले आफ्नो मोवाइलमा टिकटक एप नरहेको पनि बताएका थिए । आफू टिकटकभरी भएता पनि आफ्नो मोवाइलमा टिकटकको एप नरहेको र कसैले फेसबुकको म्यासेन्जरमा पठाइदिए हेर्ने गरेको हमाल बताउँछन् । उनले आफ्नो जीवनमा कुनै चिज फेभरेट नभएको पनि बताए । मानिसको कुनै कुरा फेभरेट नभए हरेक कुराका लागि ‘ओपन’ हुन सकिने उनको भनाई छ । 
Most Visited News (monthly)