Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

‘कबड्डी कबड्डी कबड्डी’ : यूट्युबमा पनि ‘ब्लकबस्टर’

फिल्मीखबर, काठमाडौं, 2021/12/17
प्रायः नेपाली फिल्म बक्सअफिसमा पत्ताफास भए पनि यूट्युबमा हिट हुने गरेका छन् । हलमा पैसा तिरेर हेर्नुपर्ने फिल्म यूट्युबमा सित्तैमा हेर्न पाएपछि दर्शकले साथ दिने नै भए । हलको व्यापारबाट घर न घाटको भएका निर्माताहरु यूट्युबमा फिल्मले आक्रामक भ्यूज बटुलेपछि भने खुसीले बुर्कुसी मार्ने गर्दछन् । तर, यूट्युबले गर्दा हलको व्यापार डामाडोल भएकोप्रति कसैलाई चिन्ता छैन । 
 
Dayahang Rai
 
दुई वर्ष अगाडि हलमा ब्लकबस्टर व्यापार गरेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ पनि दुई दिनअघि यूट्युबमा सार्वजनिक भयो । यो फिल्मका आफ्नै दर्शक छन् । यसैले हल र यूट्युब दुवैमा यस फिल्मका सिरिजको ठूलो प्रतिक्षा हुने गरेको छ । बक्सअफिसमा १४ करोडमाथिको व्यापार गरेको ‘कबड्डी ३’ ले यूट्युबमा भ्यूजको रेकर्ड नै राखेको छ । फिल्मलाई प्रतिक्रिया पनि उम्दा मिलेको छ ।
 
यूट्युबमा रिलिजको २४ घन्टामा १० लाख बढी भ्यूज कमाएको फिल्मलाई दुई दिनमा २४ लाख बढीले हेरिसकेका छन् । सम्भवतः यूट्युब रिलिजको दुई दिनमा नेपाली फिल्मले २४ लाखभन्दा बढी भ्यूज पाएको यो पहिलो रेकर्ड हो । यसअर्थमा यूट्युबमा पनि फिल्मलाई ‘ब्लकबस्टर’ भन्न सकिन्छ । ८३ हजार लाइक्स कमाइसकेको यो फिल्म अहिले यूट्युब ट्रेन्डिङको पहिलो नम्बरमा छ ।
 
रामबाबु गुरुङ निर्देशित फिल्ममा दयाहाङ राई, उपासना सिंह ठकुरी, कर्मा शाक्य, विल्सन विक्रम राई, बुद्धि तामाङ, रिश्मा गुरुङ, माओत्से गुरुङ, विजय बराल, कविता आले, कमलमणी नेपाल, पुष्कर गुरुङ लगायतका कलाकारहरुको अभिनय रहेको छ । शैलेन्द्र डि. कार्कीले खिचेको फिल्मले स्वजातिय विवाह र अन्तरजातीय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथा उठान गरेको छ ।
 
सर्वाधिक सिक्वेल बन्ने नेपाली फिल्मको सूचीमा दोस्रो स्थान बनाएको ‘कबड्डी’ को चौथो सिरिजको केही दिन अगाडि मात्र छायांकन सकिएको थियो । चाँडै निर्माण टिमले एक टिजर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारी गरेको छ । फिल्मको चारवटै सिरिजमा अभिनेता दयाहाङ राई मुख्य भूमिकामा छन् । उनले ‘मैयाँ’ पाउन गरेको संघर्ष नै ‘कबड्डी’ को मूल कथा हो ।
 

Most Visited News (monthly)