Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(3 votes, avg 3.67/5.00)
Text size:-
+
-

अर्जुन कुमारलाई इंगीत गर्दै ‘कठपुतली’ निर्माताले भने- ‘यो त जंगली राज भएन र ?’

फिल्मीखबर, काठमाण्डौ, 2021/12/16
कोरोना महामारीका कारण करीब २ वर्ष बन्द भएका हलहरु जिल्ला प्रशासन कार्यालयले गत भदौबाट खोल्न अनुमति दिएपछि नेपाल चलचित्र संघले असोज २१ गतेबाट हल खोल्ने निर्णय गर्दै दुई हप्ताको अन्तरमा मात्र नेपाली फिल्म रिलिज गरिने जानकारी गराएको थियो । तर, संघको यो निर्णयलाई चुनौती दिँदै अहिले केही निर्माताहरु आफ्नै देशको फिल्मसँग भिड्न तम्सिएका छन् । 
 
हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ ले सबैभन्दा पहिला सार्वजनिक विदा (सफला एकादशी) लाई लक्षित गर्दै पुष १५ गते (बिहीवार) लाई प्रदर्शन मिति घोषणा गरेको थियो । तर, पुष ९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘चुरिफुरी’ लाई एक हप्ता छाड्नुपर्छ भन्ने कुरा उठेपछि निर्माण टिमले एक दिन पछाडि सर्दै फिल्मको रिलिज मिति पुष १६ गतेलाई तय गर्‍यो ।
 
Prithvi Rana Magar and arjun kumar
 
तर, ‘कठपुतली’ ले पहिला प्रदर्शनका लागि जुन मिति रोजेको थियो, अब त्यही मिति (पुष १५) मा फिल्म ‘चपली हाइट ३’ आएको छ । यो फिल्म पुष २ गतेबाट प्रदर्शनमा आउने भनिएको थियो । तर, यो मितिमा साउथ र हलिउड फिल्म आउने भएपछि ‘चपली हाइट ३’ पुष १५ मा सरेको हो । जसले गर्दा पुष १६ मा आउन लागेको ‘कठपुतली’ माथि ठूलो अन्याय भएको निर्माताको ठहर छ ।
 
हाल हङकङमा रहेका निर्माता पृथ्वी राना मगरले सम्बन्धित निकायले रिलिजको विषयमा समाधान खोज्न माग गरेका छन् । उनले भनेका छन्, ‘नियम कानुन भन्ने कुरा हामीलाई मात्र लागू हुने होकी अरुलाई पनि लागू हुन्छ ? ‘चुरिफुरी’ लाई एक हप्ता छाड्नु पर्छ भन्ने हामीलाई चाहिँ पछाडि हट्न लगाइयो । अनि ‘चपली हाइट ३’ भने पुष १५ मा आउँदैछ । यो त जंगली राज जस्तो भएन र ?’
 
‘कठपुतली’ लाई हटाउन लगाएर ‘चपली हाइट ३’ ले एक दिन अगाडि नै रिलिज गर्न अनुमति पाउनु आफूहरुमाथि अन्याय रहेको निर्माता मगर बताउँछन् । ‘यसबारेमा निर्माता संघ, चलचित्र विकास बोर्डले केही निर्णय गरोस् । यो त सरासर हामी जस्ता सोझा व्यक्तिलाई हेपेको जस्तो देखिन्छ । ‘चपली हाइट ३’ एक दिन अघि आउँछ भने हामीले पनि ठूलो निर्णय लिन सक्छौं,’ उनले भने ।
 
भिमसेन लामाले निर्देशन गरेको ‘कठपुतली’ मा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ । अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले खिचेको फिल्मको सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा छन् । केही दिनअघि सार्वजनिक भएको ट्रेलरले फिल्मको हाइप चुल्याएको छ ।
Most Visited News (monthly)