.jpg)
नेपालीसहित हिन्दी भाषामा समेत प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत ३’ को हिन्दी संस्करणको गीत रेकर्डको सम्पूर्ण काम सकिएको छ । फिल्मको तीनवटा गीतमा भारतका चर्चित गायक-गायिकाहरुले आफ्नो स्वर भरेका छन् । राहत फतेह अली खानले ‘ये सनम तुही तु’, अंकित तिवारी र पलक मुछालले ‘तुम प्यार’ र देव नेगी र पलक मुछालले ‘मुझमे बस जाना’ गीत गाएका हुन् ।
फिल्मका तीनवटा हिन्दी गीतलाई कुमार र एम तुराजले लेखेको निर्माता तथा निर्देशक सन्तोष सेनले जानकारी दिए । तिनवटै गीत उत्कृष्ट रहेको उनको दाबी छ । नेपालमा फागुन १३ गतेबाट प्रदर्शनमा आउन लागेको ‘प्रेमगीत ३’ को भारतका लागि भने प्रदर्शन मिति घोषणा भइसकेको छ । भारतको ‘इम्पोसिबल फिल्म्स्’ ले चार करोड भारुमा फिल्मको थिएटर राइट्स किनिसकेको छ ।
स्वर्गीय छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा तयार भएको यस फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनील थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जीवन भट्टराई, माओत्से गुरुङ, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतम लगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्मबाट मनिष र क्रिस्टिनाले नायक-नायिकाको रुपमा डेब्यू गर्दैछिन् ।
अहिले निर्माता सेन फिल्मको भारत प्रदर्शनको बन्दोबस्त मिलाउन मुम्बईमा छन् । केही दिनमा भारतका लागि फिल्मको प्रदर्शन मिति घोषणा गरिने उनले बताए । साउथ फिल्मको हिन्दी डब गर्दै आएका डबिङ आर्टिस्टलाई लिएर ‘प्रेमगीत ३’ को हिन्दी डबिङ गरेका उनले फिल्मलाई हिन्दीसहित अन्य भाषामा पनि प्रदर्शन गरिने जानकारी दिए । यो फिल्मलाई राजेश श्रेष्ठले खिचेका हुन् ।

