म्यूजिक भिडियोमा जमिरहेका जो कोहीलाई फिल्ममा काम गर्ने सपना हुन्छ । म्यूजिक भिडियोबाट फिल्ममा फड्को मार्नु ठूलो सफलता मानिन्छ । म्यूजिक भिडियोबाट आएका केही कलाकारहरुले फिल्ममा पनि राम्रो पकड बनाएका छन् । सयौं म्यूजिक भिडियोमा काम गरिसकेका मोडल निराजन प्रधानले पनि फिल्म साइन नगरेका होइनन् तर आजसम्म हिरो बन्न पाएका छैनन् ।
केही वर्ष अगाडि निर्मात्री कृषा चौलागाइँले आफूले निर्देशन गर्ने नयाँ फिल्ममा उनलाई लिड नायकको रुपमा अनुबन्ध गरेकी थिइन् । तर, यो फिल्ममा निराजन अनुबन्ध मात्र भए, फिल्म नै बन्न सकेन । योसँगै उनले ‘प्रेमालय’ नामक फिल्म पनि साइन गरेका थिए । पछि उनले छायांकनमा जान ढिलाइ भएको भन्दै फिल्मबाट हात झिकेको जानकारी गराए । यो फिल्म आजसम्म बनेको छैन ।

कोरोना महामारीभन्दा अगाडि निराजनले दीवाकर भट्टराईले निर्देशन गर्ने फिल्म ‘तिमीसँगै हुने मन छ’ साइन गरेका थिए । तर, लकडाउनपछि दीवाकरले कलाकार परिवर्तन गरेर भारतबाट हिरो झिकाए । साइन गरेको तेस्रो फिल्मबाट पनि निराशा भोगेका उनले गत वर्ष विशाल भण्डारीको निर्देशनमा बन्ने फिल्म ‘कहानी तिम्रो मेरो’ साइन गरे । तर, यो फिल्म पनि बन्ने/नबन्ने टुंगो छैन ।
साइन गरेका चारवटै फिल्मबाट धोका पाएका निराजनलाई मिडियाले ‘अभागी’ भन्ने थालेका छन् । तर, उनी भने निराश देखिएका छैनन् । हालै फिल्म ‘म’ साइन गरेका उनी प्रतीक्षाको फल मीठो हुने बताउँछन् । उनी भन्छन्, ‘मैले साइन गरेका कतिवटा फिल्म घोषणा भए तर बन्न सकेनन् । ‘म’ को शुभ साइत र छायांकन मिति पनि फाइनल भएकाले यो फिल्म बन्छ भन्नेमा विश्वस्त छु ।’
उनी मानिसको कर्ममा जे लेखेको छ त्यही हुने भएकाले आफूले सबै कुरा समयमा हात छाडेको बताउँछन् । ‘सायद त्यसबेला फिल्ममा काम गर्ने मेरो समय पो भएको थिएन कि ? अहिले आएर समय भएको होकी ? मैले यसरी लिएको छु,’ उनले भने । ‘म’ लाई लिएर आशावादी देखिएका निराजनले आफूलाई दर्शकले लभर ब्वाईसँगै फरक भूमिकामा पनि देख्न सक्ने बताएका छन् ।

