Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कन्टेन्ट बलियो छ भने डराउनु पर्दैन : ऋषिराज आचार्य

फिल्मीखबर, काठमाण्डौ, 2021/12/14
ऋषिराज आचार्य निर्देशित फिल्म ‘चुरिफुरी’ आगामी पुष ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । सानो पर्दामा रुचाइएका हाँस्य कलाकारहरुको बाहुल्यता रहेको फिल्मले वैदेशिक रोजगारी र जग्गा किनबेचमा हुने ठगीको विषयलाई उठाएको छ । प्रदर्शन मिति नजिकिँदै गर्दा कलाकारलाई लिएर प्रचार-प्रसारमा दौडिरहेका निर्देशक आचार्य फिल्म निकै बलियो बनेको दाबी गर्छन् ।
 
कन्टेन्ट बलियो भएपछि डराउनु नपर्ने उनको तर्क छ । फिल्मीखबरसँगको कुराकानीमा उनी भन्छन्, ‘परिस्थिति सजिलो त छैन । तर, त्यति गाह्रो पनि छैन । किनकि, कन्टेन्ट बलियो भएपछि डराउनु पर्छ जस्तो लाग्दैन । फिल्मको कन्टेन्टप्रति म एकदमै विश्वस्त छु । तर, रिलिज नजिकिँदै गर्दा ढुकढुक चाहिँ हुने रहेछ । परीक्षा दिएको छु अब दर्शकले कति अंक दिनुहुन्छ, प्रतिक्षामा छु ।’ 
 
उनी कमेडी फिल्मको भीडमा ‘चुरिफुरी’ फरक रहेको बताउँछन् । एक वर्ष लगाएर स्क्रिप्ट लेखेको बताउँदै उनले समाजभित्रका घट्नालाई आफूले गहिरोसँग अध्ययन गरेर प्रस्तुत गरेको बताए । फिल्म हेरेपछि दर्शकले आफ्नै कथा महशुस गर्ने उनको भनाई छ । ‘फिल्मले हँसाउँदैन मात्र, राम्रो सन्देश पनि दिन्छ । फिल्मले समस्याको समाधान खोज्ने प्रयास पनि गरेको छ,’ उनले भने ।
 
Rishi Raj Acharya
 
उनी फिल्ममा आफूले देखेको र भोगेको कथा नै उठाएको बताउँछन् । फिल्ममा जग्गा दलालीको विषयमा अध्ययन गर्न आफूले केही समय जग्गा दलालीकै संगत गरेको पनि उनले बताए । आचार्य भन्छन्, ‘फिल्म फाइनल गर्दा सम्पादकले मलाई ‘तपाईं जग्गा दलालीको काम पनि गर्नुहुन्थ्यो’ भनेर समेत सोध्नुभएको थियो । यसको अर्थ मैले गहिराइमा पुगेर कथालाई मूर्तरुप दिएको थिएँ ।’
 
फिल्मले उठाएको अर्को विषय वैदेशिक रोजगारीको पनि हो । नेपालमा ९९ प्रतिशत युवाको सपना अमेरिका र अष्ट्रेलियामा पढ्ने र बाँकी डिपेन्डेन्टमा जाने भएकाले फिल्ममा यो विषय उठाउँदा युवापुस्तालाई आफ्नै कथा भनेको जस्तो लाग्ने निर्देशक आचार्यको विश्वास छ । आम मानिसले दैनिक जीवनमा भोगिरहेका कुरालाई आफूले फिल्ममा रोचक तरिकाले देखाएको उनको भनाई छ ।
 
निर्देशक आचार्यले दर्शकहरुलाई फरकपन दिने उद्देश्यले आफूले फिल्ममा सानो पर्दाका चर्चित हाँस्य कलाकारहरुलाई लिएको बताए । उनी भन्छन्, ‘म सधैं नयाँ प्रयोग गर्न रुचाउँछु । सानो पर्दामा रुचाइएका कलाकारहरुलाई फिल्ममा राख्दा रमाइलो हुन्छ भन्ने मलाई महशुस भयो । सानो पर्दाका कलाकारहरुलाई ठूलो पर्दामा हेर्दा दर्शकलाई पनि रमाइलो हुन्छ भन्ने मेरो विश्वास छ ।’
 
ऋषिराज स्वयं निर्माता रहेको ‘चुरिफुरी’ मा अभिषेक श्रेष्ठ, पूजा पन्त, शिशिर भण्डारी, सुबोध गौतम, राजिब जङ्ग बस्नेत, पवन खतिवडा, सुनिता श्रेष्ठ, सोना बज्रचार्य, लक्ष्मी ढकाल, दीपक आचार्य, रविन्द्र झा, सुरवीर पण्डित लगायतको अभिनय छ । रिना ढकाल सह-निर्माता रहेको फिल्ममा राहुल राइको छायांकन, भिमफेदी ग्रुपको कोरियोग्राफी र नविन निरौलाको सम्पादन छ । 
Most Visited News (monthly)