.jpg)
कुनै समय फिल्म अभिनयमा आफूलाई व्यस्त राखेकी अभिनेत्री निशा अधिकारीले सन्तान भएपछि अभिनयलाई निरन्तरता दिन सकेकी थिइनन् । विवाहपछि आफ्नै लगानीमा फिल्म ‘झ्यानाकुटी’ समेत निर्माण गरेकी उनी अब फिल्म ‘म’ बाट अभिनयमा फर्किने तयारीमा छिन् । सोमवार कान्तिपुर फिल्म एकेडेमीमा आयोजित फिल्मको शुभ साइतमा उनी उपस्थित भएकी थिइन् ।
उनले अब अभिनयसँगै फिल्म निर्माणलाई पनि निरन्तरता दिने बताएकी छन् । उनी भन्छिन्, ‘मेरो फिल्ममा त्यस्तो ब्रेक नै भएको भन्न मिल्दैन । विवाहपछि मैले फिल्म ‘पोखराको काली’ को छायांकन र बच्चा भएपछि डबिङ गरेको थिएँ । बीचमा एउटा सर्ट फिल्मको निर्देशन पनि गरेँ । त्यसपछि फिल्म गर्ने भन्दाभन्दै कोरोना कहर आयो । अब फिल्ममा निरन्तर काम गर्ने सोचमा छु ।’
आमा लाइफ एकदमै रमाइलो वितिरहेको उनी सुनाउँछिन् । ‘म आमा हुँदाको क्षणलाई एकदमै इन्जोय गरिरहेको छु । पहिलादेखि नै मलाई बच्चा मन पर्थ्यो । ठूलो मान्छेसँगभन्दा बच्चासँगै मेरो बढी कुरा मिल्थ्यो । म बच्चा भनेपछि हुरुक्कै हुन्थेँ । प्रेग्नेन्सीको समयमा सबै काम छाडेर मैले गर्भवती हुँदाको क्षण इन्जोय गरेँ । आमाको रुपमा पनि अहिले इन्जोय गरिरहेको छु,’ उनले भनिन् ।
आफ्नो करिअरमा केही सफल फिल्म दिएकी निशा पछिल्लो पटक फिल्म ‘कुम्भ करण’ मा देखिएकी थिइन् । ‘पदमिनी’, ‘रोमियो’, ‘मायाज् बार’, ‘नैना रेशम’, ‘मिशन पैसा २’, ‘फस्ट लभ’, ‘आभाष’, ‘लुटेरा’, ‘जय पशुराम’ लगायतका फिल्ममा अभिनय गरेकी उनी २०७४ सालमा क्रिकेटर शरद भेष्वाकरसँग विवाह बन्धनमा बाँधिएकी थिइन् । सन्तान भएपछि उनको तौल पनि केही बढेको छ ।

