Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली संस्कृति बचाउन महाअभियान सुरु, फिल्म पनि निर्माण हुने

फिल्मीखबर, काठमाडौं, 2021/12/12
नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाड पर्व लगायतमा भएको अतिक्रमणको विरुद्धमा लड्नका लागि ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच परिवर्तन नेपाल नामक संस्थाले यो महाअभियानको शुभारम्भ गरेको हो । यस महाअभियान अन्तर्गत नाटक मञ्चन गर्नेदेखि फिल्म समेत निर्माण हुनेछ । 
 
महाअभियानका संयोजक मोहन निरौलाले राजनीतिक दल, सांस्कृतिक सम्पदा, पुरातात्विक सम्पदा, मठ मन्दिरका प्रमुख र विज्ञहरुलाई भेटेर अभियानबारे जानकारी गराउने, उपत्यकाका विभिन्न स्थानहरुमा अभियानका अभियान्ताहरुले मौन प्रदर्शन र अपिल गर्ने, समाजका रहेका विभिन्न व्यक्तिहरुसँग प्रत्यक्ष अन्तरक्रिया गर्ने लगायत महाअभियानका कार्यक्रमहरु रहेको बताए । 
 
mohan niraula
 
उनले यो महाअभियानको कार्यक्रम गैह्र मुनाफा र गैह्र व्यवसायिक रहने जानकारी दिएका छन् । महाअभियान प्रारम्भ भएको ३ महिनामा वक्तव्यमार्फत् कार्य प्रगति पनि सार्वजनिक गरिने उनले बताए । नेपालको कला, साहित्य, संस्कृति मासिएको खण्डमा देशको पहिचान पनि मासिने भएकाले नेपाली संस्कृतिमाथिको अतिक्रमण अन्त्य गर्न यो अभियान थालिएको उनको भनाई छ ।
 
कलाकार तथा फिल्म निर्देशक समेत रहेका निरौलाले भने, ‘देश समाप्त पार्न युद्ध लड्नै पर्दैन, संस्कृति सकिएपछि देश नै सकिन्छ । अहिले हामी संस्कृति सकिने कठघरामा छौं । त्यसकारण संस्कृति बचाउनु पर्छ भनेर हामीले यो महाअभियानको शुभारम्भ गरेका हौं ।’ नेपाली कला, साहित्य, चलचित्र, नाटकहरु आफ्नै पहिचान र मौलिकतामा रहेर प्रस्तुत गर्न पनि उनको आग्रह छ । 
 
‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’ को शुभारम्भ समारोहका प्रमुख अतिथी तथा फिल्म निर्देशक यादव खरेलले पछिल्लो समय नेपाली संस्कृतिमाथि अतिक्रमण बढेको भन्दै यो अभियानले संस्कृतिलाई जोगाउन भूमिका खेल्नेमा विश्वास व्यक्त गरे । अभिनेत्री बसन्धुरा भुषालले पनि नेपाली संस्कृति बचाउने अभियानमा सबै क्षेत्र र व्यक्तिले साथ र सहयोग गर्नुपर्ने बताएकी छन् । 
 
त्यस्तै, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाले देशको भाषा र संस्कृति मिचिँदा नेपालीको पहिचान र अस्तित्व नै नरहने भन्दै नेपाली संस्कृतिमाथि भइरहेको अतिक्रमणको विरुद्धमा सबै एकजुट हुन आग्रह गरेकी छन् । परिवर्तन नेपालको संस्थापक अध्यक्ष समेत रहेकी उनले अबदेखि आफूले नेपाली गीतबाहेक विदेशी भाषाका गीतमा टिकटक नबनाउने समेत उद्घोष गरेकी छन् । 
 
Saskriti Bachau abhiyan
 
‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान’ को संयोजकमा मोहन निरौला रहेका छन् भने ठण्डबहादुर अधिकारी, मनोज कुमार भेटवाल, सुन्दर श्रेष्ठ, मुकुन्द मैनाली र विश्वमणी घिमिरे सदस्यमा छन् । संयोजक निरौलाले आवश्यकता अनुसार थप सदस्यहरु मनोनयन गरिने र अभियानसँग संस्थाबाहेक अन्य तह र तप्काका व्यक्तिहरु पनि क्रमशः जोडिँदै जाने जानकारी दिएका छन् । 
 
यो अभियानलाई शुभकामना दिन कार्यक्रममा सांस्कृतिक संस्थानका अध्यक्ष प्रेमनाथ अधिकारी, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, नेशनल डेल्फिक काउन्सिल नेपालका अध्यक्ष श्रीदेव विएल लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा संस्थाको अपिल महाअभियानका सदस्य ठण्डबहादुर अधिकारीले प्रस्तुत गरेका थिए भने महाअभियान अन्तर्गतका कार्यक्रमको जानकारी मनोज भेटवालले दिएका थिए ।
Most Visited News (monthly)