
फिल्म ‘फिच्यो’ (कान्छी छोरी) को नेपाल र अमेरिकामा एकसाथ विशेष प्रदर्शन हुने भएको छ । सिनेमा हलमा प्रदर्शन अगाडि फिल्मको नेपाल र अमेरिकामा बिषेश प्रदर्शन गर्न लागिएको निर्देशक विकास घले गुरुङले बताए । ‘स्वदेश तथा विदेशबाट फिल्मको माग भइरहेको छ,’ उनले भने, ‘हलमा फिल्मको रिलिज माहोल बन्न नसकेकोले पहिला विषेश प्रदर्शन गर्न लागेका हौं ।’
नेपाली, अंग्रेजी र गुरुङ गरेर तीन भाषामा निर्माण फिल्मको ल्होसारको अवसर पारेर आगामी पुष ३ गते काठमाडौंको रानीदेवी पार्टी प्यालेस र यही अवसर पारेर अमेरिकामा युनाइटेट गुरुङ एसोसियसन अफ अमेरिका (युजिएसए) ले फिल्मको विषेश प्रदर्शन गर्न लागेको हो । गुरुङ समुदायको रितिरिवाज, भेषभुषा, चालचलन, संस्कृतिमाथि आधारित भएर ‘फिच्यो’ निर्माण भएको हो ।
फिल्ममा विश्वास गुरूङ, ईन्द्र घले (काशी), टिकाराम घले, सीता देवी गुरुङ, डीबी गुरुङ, कल्याण थापा, कृष्ण गुरुङ, सुबेदार मन्त्री जङ गुरुङ, अन्जना गुरुङ, पेम्बा छिरिड शेर्पा लगायतको अभिनय छ । रेड ओसियन ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस फिल्ममा विकास घलेको कथा, प्रकाश गुरुङ (काश) का छायांकन, सन्तोष श्रेष्ठ र गणेश गुरुङको संगीत रहेको छ ।
फिल्मको सम्पादन पनि निर्देशक घलले नै गरेका हुन् । फिल्ममा गोरे गुरुङको नृत्य छ । शान्ति माया गुरुङ (युएसए), मन्त्री जङ गुरुङ, बुद्धि माया गुरुङ (ईराक) र अभिनाश यम.जि (मांगसुम) निर्माता रहेको फिल्मले बिग्रदो सामाजिक परिस्थितीले मिहेनती युवालाई कसरी असर पुर्याउँछ भन्ने देखाउन खोजिएको छ । फिल्मलाई चाँडै हलमा पनि प्रदर्शन गर्ने निर्माण टिमको तयारी छ ।

