.jpg)
निर्माणको तयारीमा रहेका दुई फिल्म ‘दुई नम्बरी’ र ‘के घर के डेरा’ को छायांकन सुरु हुने अन्योल भएपछि अभिनेत्री वर्षा राउतले बिहीवार नयाँ फिल्म साइन गरेकी छन् । आगामी पुष दोस्रो साताबाट छायांकन सुरु हुन लागेको फिल्म ‘लाखे’ मा उनी अनुबन्धित भएकी हुन् । निर्देशक सम्राट बस्नेत र कार्यकारी निर्माता हरि मल्ल ठकुरीले बिहीवार वर्षा राउतसँग ‘पेपर एग्रिमेन्ट’ गरेका हुन् ।
‘लाखे’ को कथा मन परेकोले फिल्ममा आफू जोडिएको वर्षाले बताइन् । ‘कथावस्तुसँगै फिल्मको टिम पनि राम्रो छ । यसमा मेरो भुमिका फरक देख्न सक्नुहुन्छ,’ उनले भनिन् । वर्षाको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप बलियो बनेको छ । फिल्ममा यसअघि नै सौगात मल्ल, अनुप विक्रम शाही, आर्यन अधिकारी, अर्पण थापा, सुशील सिटौला, सुनिल थापा भित्रिसकेका छन् ।
यस फिल्ममा विजय बराल, रुपेश झा, चक्र बहादुर बिष्ट, श्रवण कुमार राणा, सुजन ए.परियार, रक्षा बुढाथोकी, अजय पन्त, उमेश सुनाम, राजन भुजेल, अन्विशा खड्गी, सिष्टम भण्डारीको पनि अभिनय रहनेछ । ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टर र औरियन प्रोडक्सनको ब्यानरमा निर्माण हुने फिल्मका निर्माता सिजन अर्याल हुन् । अहिले फिल्मको प्रि-प्रोडक्सनको काम भइरहेको छ ।
निर्माता अर्यालकै कथा रहेको फिल्मको प्रस्तुकर्ता गणेश मल्ल ठकुरी र कार्यकारी निर्माता हरि मल्ल ठकुरी हुन् । ठूलो बजेटमा निर्माण हुने फिल्ममा दिलिप पन्त प्रोडक्सन डिजाइनर छन् । फिल्मको नाम ‘लाखे’ राखिएको भए पनि नेपाली संस्कृतिमा रहेको लाखे परम्परामाथि फिल्म पूरै नसमेटिएको निर्देशक बस्नेतले बताए । उनले यसअघि फिल्म ‘पासवर्ड’ को निर्देशन गरेका थिए ।

