
हरर जनरामा निर्माण भएको फिल्म ‘कठपुतली’ को ट्रेलर सार्वजनिक भएको छ । बुधवार राजधानीमा आयोजित एक कार्यक्रमबीच सार्वजनिक गरिएको ट्रेलरमा राजाहरुको शासन कालमा दरबारभित्र हुने घट्नाक्रमलाई देखाइएको छ । केही दिनमा फिल्मको दोस्रो ट्रेलर पनि सार्वजनिक गर्ने तयारीमा निर्माण टीम रहेको छ । ट्रेलरले दर्शकमा फिल्मप्रति कौतुहलता बढाउन सक्ने देखिन्छ ।
आगामी पुष १६ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई भिमसेन लामाले निर्देशन गरेका हुन् भने पृथ्वी राना मगर निर्माता हुन् । निर्देशक लामा लण्डन र निर्माता मगर हङकङमा भएकाले ट्रेलर रिलिज कार्यक्रममा उपस्थित हुन सकेनन् । फिल्ममा गौरी मल्ल, मिथिला शर्मा, कर्मा, शिल्पा माष्के, उषा रजक, सुवर्ण थापा, ध्रुव कोइराला लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

फिल्मका कलाकारदेखि लेखिका सम्पदा मल्लसम्मले ट्रेलर रिलिज कार्यक्रममा फेस मास्क लगाएर प्रवेश गरेका थिए । फिल्मकी कार्यकारी निर्माता समेत रहेकी मल्लले फिल्म हरर जनरामा निर्माण भए पनि मौलिक कथामा बनेको बताइन् । उनले भनिन्, ‘हरर जनरामा हाम्रो पहिलो प्रयास हो । फिल्म हरर भए पनि हाम्रै माटोको कथा भन्छ ।’ फिल्मले भूत-प्रेत, तन्त्र-मन्त्रको कथा भन्नेछ ।
कलाकार मिथिला शर्माले फिल्ममा काम गर्न कथावस्तु र चरित्रले आफूलाई आकर्षित गरेको बताइन् । फिल्मले नारीलाई सशक्त रुपमा प्रस्तुत गरेको उनको भनाई छ । उनी ‘कठपुतली’ लाई महिलाहरुको कथा भन्न पनि रुचाउँछिन् । नायक कर्माले हरर जनरामा यो फिल्मले एउटा इट्टा थप्नेमा विश्वास व्यक्त गरे । फिल्मको कथा बलियो भएकाले नै आफू आबद्ध भएको उनले बताए ।

त्यस्तै, अभिनेत्री उषा रजकले पहिलो पटक हरर फिल्ममा काम गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफूलाई भूत-प्रेतप्रति विश्वास रहेको बताइन् । अष्ट्रेलियाका सिनेमाटोग्राफर जोएल फ्रूमले खिचेको ‘कठपुतली’ को सह-निर्मातामा विशाल गुरुङ, धर्म श्रेष्ठ र हेम थापा रहेका छन् । ओटीटी प्लेटफर्म ‘सिनेमा घर’ एपका सञ्चालक सागर खरेल यस फिल्ममा बजार ब्यवस्थापकको रुपमा छन् ।

