.jpg)
यतिबेला बलिउडमा विवाहको सिजन चलेको छ । यही सिजनमा राजकुमार राव, श्रद्धा आर्या, ऐश्वर्या शर्मा, नील भट्ट, निकिता शर्मा लगायत बलिउडका कयौं चर्चित सेलिब्रेटीहरु विवाह बन्धनमा बाँधिसकेका छन् । अब बलिउडकी ‘बार्बी डल’ कटरीना कैफ पनि अभिनेता विक्की कौशलमा विवाह गर्ने तयारीमा छिन् । यही ९ डिसेम्बर (बिहीवार) मा उनीहरुको विवाह राजस्थानमा हुँदैछ ।
वास्तविक जीवनमा पहिलो पटक दुलही बन्न लागेकी कटरीना रिल लाइफमा भने कयौं पटक दुलही बनिसकेकी छन् । तर, रोचक कुरा के छ भने प्रायः फिल्ममा उनी ‘भाग्ने दुलही’ को रुपमा प्रस्तुत भएकी छन् । सन् २००७ मा प्रदर्शन भएको सुपरहिट फिल्म ‘नमस्ते लण्डन’ मा उनले विवाहकै दिन दुलहालाई छाडेर भागेकी थिइन् र लण्डन पुगेर अक्षय कुमारसँग विवाह गरेकी थिइन् ।
फिल्म ‘मैंने प्यार क्यों किया ?’ मा पनि कटरीना कैफले सलमान खानसँगको विवाह आफैं तोडिदिन्छिन् । यो फिल्ममा सलमान र कटरीनाको जोडीलाई दर्शकहरुले निकै रुचाएका थिए । त्यस्तै, फिल्म ‘हमको दीवाना कर गए’ मा कटरीनाको इन्गेजमेन्ट नायक अनिल कपूरसँग हुन्छ तर दिल अक्षय कुमारका लागि धड्किएको हुन्छ । यो फिल्ममा उनी विवाहकै मण्डपबाट भागेकी थिइन् ।
फिल्म ‘पार्टनर’ मा पनि उनले भाग्दै गरेको दुलहीको भूमिका निर्वाह गरेकी थिइन् । कटरीनालाई विवाहको मण्डपबाटै भागेको हेर्न पाइने अर्को फिल्म हो, ‘सिंह इज किंग’ । यो फिल्ममा कटरीना आफ्नो हुनेवाला श्रीमानलाई बिहेको मण्डपबाटै छाडेर भाग्छिन् र अक्षय कुमारसँग विवाह गर्छिन् । फिल्म ‘अजब प्रेम की गजब कहानी’ मा पनि उनी ‘भाग्ने दुलही’ को रुपमा प्रस्तुत भएकी थिइन् ।

