अहिलेकी चल्तीकी अभिनेत्री हुन्, स्वस्तिमा खड्का । फिल्म ‘होस्टेल रिर्टन्स’ बाट अभिनय करिअर सुरु गरेकी उनले ७ वर्षको अवधिमा अभिनेत्रीहरुको भीडमा आफूलाई फरक रुपमा उभ्याएकी छन् । फिल्म ‘बुलबुल’ बाट करिअरमा ठूलो फड्को मारेकी उनले आर्ट र कमर्शियल दुवै खालका फिल्ममा राम्रो उपस्थिति जनाएकी छन् । यसैले त उनी हरेक मेकरको रोजाई बनेकी छन् ।
गत वर्ष फिल्म ‘चिसो मान्छे’ मा १८ लाख पारिश्रमिक लिएको खबरले चर्चाको पात्र बनेकी उनले पुष २ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘चपली हाइट ३’ मा पनि मोटो रकम बुझेको बताइन्छ । तर, स्वस्तिमालाई भने कलाकारको पारिश्रमिकलाई लिएर हुने गरेको बहस एकदमै अनावश्यक लाग्छ । कलाकारको पारिश्रमिकको भन्दा पनि कामको मुल्यांकन हुनुपर्ने उनको भनाई छ ।
.jpg)
स्वस्तिमा भन्छिन्, ‘मैले आजसम्म कुन फिल्ममा कति पारिश्रमिक लिएँ भनेर भनेको छैन । मैले पारिश्रमिक कति लिएँ भन्ने कुरा महत्त्वपूर्ण होइन, मैले फिल्ममा काम कस्तो गरेँ त्यो महत्त्वपूर्ण हो । पारिश्रमिकको बारेमा हामी अनावश्यक बहस गरिरहेका छौं । यो कलाकारले यति पारिश्रमिक लियो, यसको योसँग प्रेम छ भनेर अब हामी बहस गर्न छाड्यौं । यो बेला हामी गम्भीर हुनुपर्छ ।’
कलाकार बजारमा मुल्य झुन्ड्याएर राखेको सामना नभएको उनको तर्क छ । आर्टमा पैसा प्राथमिकतामा नपर्ने बताउँदै उनले आफूले काम गर्न खोजेको क्यारेक्टरबाट प्रस्ताव आए सित्तैमा पनि फिल्म गर्न सक्ने बताएकी छन् । स्क्रिप्ट मन परे आफैं फिल्ममा लगानी गर्न पनि तयार रहेको उनी बताउँछिन् । तर, पैसाका लागि आफूले कदापी फिल्ममा काम नगर्ने स्वस्तिमाको भनाई छ ।
उनी अगाडि भन्छिन्, ‘फिल्मको हकमा मेरो लागि पैसा सेकेन्डरी कुरा हो । अरु कुरामा बरु म पारिश्रमिकलाई पहिलो प्राथमिकता दिन्छु होला तर फिल्मको हकमा त्यस्तै हुन्न । मैले फिल्मलाई अलग स्थानमा राखेको छु । म पैसाका लागि फिल्ममा काम गर्दिनँ ।’ उनी फिल्मको सफलता र असफलताले करिअरमा धेरथोर प्रभाव पार्ने भए पनि आफूले यसलाई महत्त्व दिने नगरेको बताउँछिन् ।
‘फिल्म गर्दाखेरी व्यापारिक हिसाबले राम्रो हुन्छ र दर्शकले फरक पाउनुहुन्छ भन्ने सोचेरै काम गरिन्छ । तर, नेपालको सन्दर्भमा फिल्म हिट र फ्लप भएर कलाकारलाई भयंकरै फाइदा र घाटा हुन्छ भन्ने हुँदैन । बरु, फिल्म हिट हुँदा टर्निङ पोइन्ट हुनसक्छ । तर, फिल्म हिट र फ्लपभन्दा पनि कलाकारले काम कस्तो गरेको छ भनेर मुल्यांकन गर्नुपर्छ जस्तो मलाई लाग्छ,’ उनले भनिन् ।

