‘पढ्नका लागि उमेरले रोक्दैन’ भन्ने एउटा गतिलो उदाहरण हुन्, करिश्मा मानन्धर । कक्षा ८ मा पढिरहँदा फिल्म ‘सन्तान’ बाट अफर आएपछि उनले अध्ययन छाडेकी थिइन् । फिल्ममा आएपछि उनले पढाईका लागि समय नै दिन सकिनन् । तर, उमेर घर्किँदै गएपछि केही वर्षदेखि उनी फिल्म अभिनयमा सक्रिय छैनन् । यही मौकामा उनले पुनः अध्ययनलाई सुरु गर्ने निर्णय गरिन् ।
.jpg)
करीब ६ वर्ष अगाडि मैतिदेवीस्थित त्रिवेणी पब्लिक स्कूलमा कक्षा ८ मा भर्ना भएकी उनले सरकारी स्कूलबाट कक्षा १२ पनि पास गरेकी छन् । शुक्रवार सार्वजनिक भएको नतिजाअनुसार, उनको २.४१ जीपीए आएको छ । अब उनी स्नातक पढ्ने सोचमा छिन् । ग्रामीण विकास विषय लिएर स्नातकमा भर्ना हुन लागेकी करिश्मा आफूले सर्टिफिकेट लिनका लागि मात्र नपढेको बताउँछिन् ।
एक भिडियोमार्फत् करिश्माले यो उमेरमा आफूले अध्ययन सुरु गर्नुको उद्देश्यबारे भनेकी छन्, ‘कुनै पनि उमेरमा कुनै पनि चिज सिक्नका लागि ढिला हुँदैन र महिलाहरु शिक्षित हुनुपर्छ भन्ने उद्देश्यले नै मैले अध्ययनलाई सुरु गरेको हुँ । कुरिती, कु-संस्कारहरु हटाउनका लागि शिक्षा अत्यन्त आवश्यक छ । म आफू मात्र शिक्षा हासिल गरेर सर्टिफिकेट लिनका लागि पढेको कदापी होइन ।’
धेरैका लागि आफूले अध्ययन सुरु गर्नु अति सामान्य लागे पनि यो उमेरमा स्कूल गएर पढ्नु आफ्नो लागि सामान्य नभएको उनको अनुभव छ । ‘धेरैका लागि मैले अध्ययन सुरु गर्नु सामान्य लाग्ला । तर, अध्ययनलाई छाडिसकेको मान्छे यो उमेरमा केटाकेटीसँग मिसिएर स्कूलमा पढ्नु मेरो लागि अलि सामान्य थिएन । कक्षा १२ सम्मको अध्ययन पूरा गरेँ भनेर खुसी छु,’ उनले भनेकी छन् ।
कक्षा १२ को रिजल्टबाट उनी उत्तिधेरै खुसी छैनन् । उनले जुन विषयमा राम्रो अंक आउँछ भन्ने सोचेकी थिइन्, त्यसमा धेरै कम अंक मिलेको छ । तर पनि उनले चित्त बुझाएकी छन् । उनको दुईवटा विषयमा ‘ए प्लस’ आएको छ । कक्षा १२ को परीक्षामा कम अंक आएर निराश भएका विद्यार्थीहरुलाई अभिनेत्री मानन्धरले अंक धेर र थोरले उत्ति महत्त्व नराख्ने भन्दै सान्त्वना दिएकी छन् ।

