नेपालमा एउटा उखान निकै चर्चित छ, ‘नेपालीहरुले सित्तैमा पायो भने अलकत्रा पनि सजिलै निल्छन् ।’ यो उखान नेपाली फिल्मका दर्शकहरुमा ठ्याक्कै चरितार्थ हुन्छ । सिनेमा हल गएर फिल्म हेर्न नरुचाउने दर्शकहरु यूट्युबमा आएपछि भोक-निन्द्रै विर्सन्छन् । अनि, सित्तैमा फिल्म हेर्न पाएको ‘गुन’ प्रशंसा गरेर तिरिदिन्छन् । नेपाली निर्माता र कलाकारलाई भने यही ठूलो सफलता लाग्छ ।
दर्शकलाई यूट्युबमा सित्तैमा फिल्म हेर्ने बानी बसालेका निर्माताहरु हलको कमाईबाट घर न घाटको हुनुपर्ने अवस्था छ । ‘यूट्युबमा फिल्म आइहाल्छ नी’ भनेर दर्शकहरु हलसम्म जान छाड्दा नेपाली फिल्मको हलमा हुने व्यापार दिनानुदिन ध्वस्त बन्दै गएको छ । हलमा फिल्म पत्तासाफ हुँदा पुर्पुरो समाउने निर्माताहरु यूट्युबमा फिल्मले आक्रामक भ्यूज पाउँदा भने खुसीले गदगद हुने गर्छन् ।
.jpg)
हलमा पोस्टरको पनि पैसा नउठाएको फिल्म यूट्युबमा सुपरहिट भएका कयौं उदाहरण छन् । यतिबेला यूट्युबको ट्रेन्डिङमा रहेका दुई फिल्म ‘हजार जुनीसम्म’ र ‘घामड शेरे’ ले हलमा पानी पनि भन्न पाएका थिएनन् । तर, यूट्युबमा दुवै फिल्मले आक्रामक भ्यूज पाएका छन् । कमेन्ट बक्स पनि प्रशंसाले भरिएको छ । सित्तैमा पाएको कुरा नेपालीलाई कति मनपर्छ यो गतिलो उदाहरण हो ।
एक हप्तादेखि यूट्युब ट्रेन्डिङको पहिलो स्थानमा रहेको ‘हजार जुनीसम्म’ लाई अहिलेसम्म ५० लाखभन्दा बढीले हेरिसकेका छन् भने सोमवार सार्वजनिक भएको ‘घामड शेरे’ ले ट्रेन्डिङको दोस्रो नम्बर कब्जा गर्दै साढे ९ लाखभन्दा बढी भ्यूज बटुलिसकेको छ । यी दुवै फिल्मलाई प्रायः सकारात्मक प्रतिक्रिया प्राप्त छ । रोचक संयोग के छ भने दुवै फिल्ममा स्वस्तिमा खड्काको अभिनय छ ।
सोमवार फेसबुकमार्फत् ‘घामड शेरे’ यूट्युबमा रिलिज भएको जानकारी दिँदै स्वस्तिमाले ‘हजार जुनीसम्म’ यूट्यूबमा ‘आपार भीड’ का साथ चलिरहेको र मन खुसीले रमाइरहेको बताएकी छन् । हलमा फिल्म चल्दा ‘आपार भीड’ देख्न र भन्न नपाएकी उनलाई यूट्युबले भए पनि यो अवसर दिएको छ । अब हलमा फिल्मै चल्न छाडेपछि खुसी हुने बहाना पनि त चाहियो नी ? कि कसो ?

