
नियमित फिल्म हेर्ने दर्शकहरुका लागि महेश त्रिपाठी परिचित अनुहार होइनन् । तर, उनले सर्ट फिल्मबाट अभिनयमा आफूलाई प्रमाणित गरिसकेका छन् । अब उनी फिचर फिल्ममा पनि आफ्नो बलियो उपस्थिति जनाउँदैछन् । लामो समयदेखि अस्कार इन्टरनेशनल कलेजमा शिक्षकको रुपमा कार्यरत उनको नयाँ फिल्म ‘चपली हाइट ३’ आगामी पुष २ गतेबाट प्रदर्शनमा आउँदैछ ।
अभिनय पढेर आएका व्यक्तिहरुले फरक धारको फिल्मप्रति रुचि देखाउने गरेको पाइन्छ । महेश पनि अभिनय पढेर आएका हुन् । उनका समकालीन कलाकारहरु फरक धारको फिल्मका लागि दौडिरहेका छन् । तर, उनी फिल्मलाई आफूले मेनस्ट्रिम वा फरक धार भनेर हेर्ने नगरेको बताउँछन् । कलाकार भएपछि काम गर्ने स्पेश छ कि छैन भन्ने कुराले अर्थ राख्ने उनको भनाई छ ।
महेश भन्छन्, ‘मैले फिल्मलाई मेनस्ट्रिम वा फरक धार भनेर हेर्दिनँ । एउटा कलाकारको रुपमा फिल्ममा काम गर्ने स्पेश छ कि छैन, त्यो क्यारेक्टरलाई मैले न्याय गर्न सक्छु कि सक्दिनँ भनेर सोच्ने गर्छु । म एक्स्ट्रा अडिनरीको पछाडि लाग्ने भन्दा पनि इमान्दार भएर काम गर्छु । इमान्दार भएर काम गर्ने स्पेश जहाँ पाउँछु म गर्छु । मैले ‘चपली हाइट ३’ सँग जोडिनुको कारण यो पनि थियो ।’
चलेका कलाकारसँग काम गर्दा आफू ओझेल परिन्छ भनेर कहिल्यै नसोच्ने पनि उनी बताउँछन् । स्थापित कलाकारसँग काम गरेर के सिकियो त्यो महत्त्वपूर्ण कुरा रहेको उनको भनाई छ । ‘चपली हाइट ३’ लाई आफूले कलेजको रुपमा लिएको बताउँदै उनले भने- ‘म हरेक प्रोजेक्टबाट नयाँ कुरा सिक्छु । सिक्न पाउनु मेरो लागि ठूलो उपलब्धि हो । त्यसैले म नयाँ प्रोजेक्ट गर्न रुचाउँछु ।’

