Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अब ‘महाफन्टुस’ फिल्म बनाउँछु : निखिल उप्रेती

फिल्मीखबर, काठमाडौं, 2021/12/06
नायक निखिल उप्रेती पछिल्लो समय ‘आध्यात्मिक गुरु’ बनेका छन् । कुनै समय फिल्ममा भ्याइनभ्याइ हुने गरेका उनलाई अचेल जीवन र जगतबारे गहन ढंगले ब्याख्या र विश्लेषण गरेको देख्न पाइन्छ । उनले कोरोना महामारीको दोस्रो लहर सुरु हुनुभन्दा अगाडि ‘समबोधी अभियान’ को समेत थालनी गरेका थिए । तर, कोरोनाका कारण उनले यो अभियानलाई अगाडि बढ्न पाएनन् । 
 
आफ्नो करिअरमा २ सय फिल्ममा अभिनय गरेका निखिल फिल्म ‘पिंजडा ब्याक अगेन’ पछि अभिनयबाट टाढा छन् । कोरोना महामारीभन्दा अगाडि उनी आफ्नो कमब्याक फिल्म ‘भैरव’ को सिक्वेल निर्माणको तयारीमा थिए । तर, अब यो फिल्म नबन्ने भन्ने चर्चा फिल्मवृतमा छ । हालै सञ्जय सिलवाल गुप्ताको शोमा उनले आफू नयाँ फिल्मको तयारीमा रहेको जानकारी दिएका छन् ।
 
उनले भनेका छन्, ‘अहिले म नयाँ फिल्मको तयारीमा छु । अब म महाफन्टुस फिल्म पनि बनाउँछु । म कमर्शियल फिल्म बनाउन चाहन्छु । तर, कमर्शियलभित्र शिक्षा हुँदैन । शिक्षामुलक फिल्म पनि बनाउने सोचमा भने छु । तर, बजारमा चल्ने बहस जस्तो शिक्षामुलक फिल्म चाहिँ बनाउँदिनँ ।’ नयाँ फिल्मका लागि आफूलाई कलाप्रति क्रेजी भएका व्यक्तिहरु चाहिएको उनले बताए ।  
 
nikhil  upreti
 
सञ्जयको शोमा निखिलले आफू बम्बई (हालको मुम्बई) मा बसेर गरेको संघर्षका दिन पनि सम्झिएका छन् । उनले भनेका छन्, ‘म मुम्बई किन गएकोे आफैंमा स्पष्ट थिएन । मलाई ज्याकी च्यान जस्तै पनि बन्नु थियो । तर, कलाकार बन्ने सोच थिएन । अरुले गरेको ड्रामा हेर्दा म आफैंलाई लाज लाग्थ्यो, आफैंले गर्ने त कुरै थिएन । तर, खासमा म फिल्म पढ्नका लागि भनेरै बम्बई गएको थिएँ ।’ 
 
उनलाई मुम्बईको पहिलो दिन अझै पनि याद छ । उनी बम्बई झर्ने वितिक्कै सुनिल शेट्टीको होटल ‘ब्रडवे’ मा बसेका थिए । उनले त्यो होटलमा करीब १ महिना विताए । ‘मैले एक महिना त्यो होटलको झ्यालबाट बम्बईको रोड हेरेर विताइदिएँ, ताकी भित्रको इनर्जीले मलाई बाहिर निकालोस्,’ उनले भने । एक महिनामा होटलपछि बसेपछि उनले रोशन तनेजाबाट अभिनयको कोर्ष लिए ।
 
रोशन तनेजाको सिफारिसमा उनले अमिताभ बच्चनको ‘एविसी कर्पोरेशन’ मा एक्सन सिकाउने शिक्षकको रुपमा काम गर्ने अवसर पनि पाएका थिए । त्यहाँ उनको पारिश्रमिक महिनाको ३६ हजार थियो । विस्तारै उनले बलिउड फिल्ममा फाइट असिस्टेन्ट, स्टन्ट, डुब्लिकेटको काम गर्न थाले । उनले बलिउडदेखि साउथ फिल्मसम्म फाइट असिस्टेन्टदेखि स्टन्ट म्यान भएर काम गरेका छन् ।
 
अर्को प्रशंगमा निखिलले नेपाली फिल्मको औकात स्वस्थानीको कथा जति पनि नरहेको बताएका छन् । उनी भन्छन्, ‘पुष महिनामा स्वस्थानीको पुस्तक तीन पटकसम्म दोहोर्‍याएर पढ्ने गरिन्छ । हरेक पटक पढ्दा हामी रुन्छौं । तर, नेपाली फिल्म एक पटक हेरेपछि दर्शकले फर्केर नहेर्ने गरी छोड्छन् । यसले के देखाउँछ भने स्वस्थानीको जति पनि नेपाली फिल्मको औकात रहेनछ ।’ 
 
नेपालमा फिल्म भनेर स्कूूल बनाउन थालिएको उनको भनाई छ । केही विद्वानहरुले फिल्ममा शिक्षा हुनुपर्छ भनेर बहस गरिरहेको भए पनि यसको कुनै औचित्य नरहेको उनी बताउँछन् । उनी प्रश्न गर्दै भन्छन्, ‘फिल्ममा शिक्षा हुनुपर्छ भने स्कूलमा के हुनुपर्छ ? अनि फिल्ममा पनि शिक्षा हुनुपर्छ भने मनोरञ्जन चाहिँ कहाँ हुनुपर्छ ? त्यसैले मनोरञ्जनलाई मनोरञ्जनको नै ठाउँमा राख्नु पर्छ ।’ 
Most Visited News (monthly)