नेपालको प्रतिष्ठित फिल्म फेस्टिभल ‘काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ (किम्फ) को १९औं संस्करण यही मंसिर २३ देखि २७ गतेसम्म हुने भएको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै डकुमेन्ट्री, फिक्सन, प्रयोगात्मक, छोटा फिल्म र एनिमेसन गरी २८ देशका ६० भन्दा बढी फिल्म अनलाइन र दर्शकको प्रत्यक्ष उपस्थितिमा देखाइने जानकारी गराइयो ।
कोरोनाको जोखिम कायमै रहेकाले यसपटकको ‘किम्फ’ हाइब्रिड शैलीमा गर्न लागिएको छ । फेस्टिभलको उप-शीर्षक ‘जलवायु कर्म’ राखिएको छ । उक्त उप-शीर्षकको माध्यमबाट दर्शकलाई मानिसहरु वातावरणसँग कसरी सम्बन्धित छन् र स्थानीय तथा विश्वव्यापी भइरहेका जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्ने सन्देश दिनु रहेको जनाइएको छ ।

‘किम्फ’ को उद्घाटन समारोहमा भारतका चर्चित वातावरण विद् र रोलेक्स पुरस्कार विजेता सोनम वाङ्चुकको मुख्य सम्भाषण (किनोट) प्रस्तुत हुनेछ । यसवर्ष किम्फ र युरोपेली संघद्वारा नेपाली निर्माताका लागि ग्रीन ग्रोथ–ग्रीन रिकभरी शीर्षकमा छोटा फिल्मका प्रतिस्पर्धा पनि गरिनेछ । किम्फ र सेभ द चिल्ड्रेनले वातावरणका लागि कल टू एक्सनमा टिकटक च्यालेन्ज पनि गर्नेछ ।
‘किम्फ’ को निर्णायक मण्डलमा स्विस पत्रकार तथा पर्वतारोही मारियो कासेला, स्वीस पत्रकार तथा निर्माता क्यारोलिन फिङ्क र नेपाली अभिनेता तथा निर्देशक अनुप बराल छन् । निर्णायक मण्डलले अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट हुने तीन फिल्म (छानिएका ४० मध्येबाट) र नेपाल पानोरमामा उत्कृष्ट वृत्तचित्र र फिक्सन फिल्म (छानिएका १३ वटा मध्येबाट) निर्णय गर्ने बताइएको छ ।
अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा पहिलो हुनेलाई फिल्मलाई नेपाली २ लाख रुपैयाँ, द्धितिय हुनेलाई डेढ लाख र तृतीय हुनेलाई १ लाख रुपैयाँ नगद पुरस्कार दिइने जानकारी गराइयो । नेपाली पानोरमामा उत्कृष्ट हुने वृत्तचित्रले भने ७५ हजारको पुरस्कार र उत्कृष्ट आख्यानात्मक फिल्मले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । त्यस्तै, उत्कृष्ट माउन्टेन फिल्मले १ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

तीन दिनसम्म नियमित चल्ने ‘किम्फ’ मा अमेरिकाकी फोटोग्राफर सिरा क्रोवेलद्वारा मास्टर क्लास प्रस्तुत हुनेछ । नेपालमा ‘मेरो खोज यात्रा’ नामक स्विस भूवैज्ञानिक टोनी हेगनको ‘बिल्डिङ ब्रिजज टु द थर्ड वल्र्ड’ को नेपाली अनुवाद तथा ‘सस्टेनेबल समिट्स–क्लाइमेट सोलुसन्स फ्रम द टप अफ दी वल्र्ड’ लगायत फिल्म फेस्टिभलमा स्क्रिनिङ गर्ने तयारीमा आयोजक संस्था रहेको छ ।
‘काठमाडौं अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ का अध्यक्ष बसन्त थापाले महोत्सवमा प्रदर्शन गरिने फिल्म र यसमा समावेश कार्यक्रमले दर्शकलाई मनोरञ्जन दिनुका साथै वातावरण र जलवायु परिवर्तनका बारेमा विशेष जोडका साथ नेपाली जनतालाई प्रभाव पार्ने खालको मुद्दामा हुने संवादमा संलग्न गराउने बताए । यसपटकको ‘किम्फ’ चावहिलस्थित चलचित्र विकास बोर्डको हलमा हुनेछ ।

