
कोरोना महामारीका कारण रोकिएको फिल्म ‘बिच्छेद’ को करीब दुई बर्षपछि सम्पूर्ण छायांकन सकिएको छ । २०७६ वर्षको चैत ५ गतेबाट फिल्मको छायांकन सुरु भएको थियो । तर, चैत ११ गतेबाट कोरोना महामारीका कारण देश लकडाउन भएपछि फिल्मको छायांकन अधुरैमा रोकियो । अधुरैमा छायांकन रोकिँदा ठूलो आर्थिक क्षति भएको निर्माता राज पण्डितले बताएका छन् ।
शनिवार रामेछापको एक गाउँमा फिल्मको अन्तिम सिन खिचिएको निर्देशक सत्यराज चौलागाइँले बताए । यो फिल्ममा अभिनेता मुकुन भुषाल र अभिनेत्री लक्ष्मी बर्देवा प्रमुख भूमिकामा छन् । उनीहरुले यसअघि फिल्म ‘बुलबुल’ मा एकसाथ काम गरेका थिए । ‘बिच्छेद’ मा सुष्मा निरौला, प्रिया रिजाल, लय संग्रौला, हिउँवाला गौतम, सरिता राजउपाध्याय, जीवन थापाको पनि अभिनय छ ।
राज पण्डित, सुबास राई र साबि बज्राचार्य निर्माता रहेको यस फिल्ममा संकल्प भुजेलको छायांकन, एसडि योगी र सुरज थापाको संगीत रहेको छ । सम्पादनको सम्पूर्ण काम सकिएपछि फिल्मको प्रदर्शन मिति घोषणा गर्ने तयारीमा निर्माण टिम छ । फिल्म गाउँले परिवेशमा आधारित रहेको निर्देशक चौलागाईंले जानकारी दिए । उनले यसअघि फिल्म ‘अनुराग’ को निर्देशन गरेका थिए ।

