.jpg)
राष्ट्रिय प्रजातन्त्र पार्टीको महिला महामन्त्री पदमा उम्मेदवारी दिएकी अभिनेत्री रेखा थापा पराजित भएकी छन् । अध्यक्षमा निर्वाचत भएका राजेन्द्र लिङ्देनको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएकी उनलाई कमल थापा प्यानलकी कुन्ती शाहीले ठूलो मतान्तरसहित हराएकी हुन् । शाहीले २ हजार ८ मत ल्याएर विजयी हुँदा रेखा थापाले १ हजार ६ सय ४० मत प्राप्त गरेकी छन् ।
रेखाले महामन्त्रीमा उम्मेदवारी दिएपछि सामाजिक सञ्जालमा उनले ‘गणतन्त्र मनपर्ने’ भनेर दिएको एक अन्तर्वार्ता निकै भाइरल भएको थियो । उक्त भिडियो कमल थापाले समेत सामाजिक सञ्जालमा शेयर गरेका थिए । रेखा महामन्त्रीमा पराजित हुनुमा यही अभिव्यक्ति घातक बनेको कतिपयको विश्लेषण छ । किनकि, राजतन्त्रको पक्षमा वकालत गर्ने राप्रपाले गणतन्त्र स्वीकार गर्दैन ।
काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि बनेकी रेखाले २०७३ सालबाट राप्रपाको राजनीति सुरु गरेकी थिइन् । राप्रपा प्रवेश गर्दा कमल थापा नजिक मानिएकी उनी पछि पशुपति सम्शेर राणासँग नजिक देखिएकी थिइन् । तर, महाधिवेशनमा उनी राजेन्द्र लिङ्देनको पक्षमा खुलिन् । चुनावमा हारे पनि राजेन्द्रले उनलाई मनोनित गरेर केन्द्रीय कमिटीमा लैजान सक्ने चर्चा छ ।

