Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

कक्षा १२ उत्तीर्ण भइन् करिश्मा, स्नातकमा ग्रामीण विकास पढ्ने

फिल्मीखबर, काठमाडौं, 2021/12/03
karishma manandhar
 
उमेरले ४० नाघेपछि ८ कक्षाबाट अध्ययन सुरु गरेकी अभिनेत्री करिश्मा मानन्धर कक्षा १२ उत्तीर्ण भएकी छन् । शुक्रवार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार उनी २.४१ जीपीएसहित कक्षा १२ उत्तीर्ण भएकी हुन् । अभिनेत्री मानन्धरले आफूले सोचेको जस्तै नतिजा आएकोमा खुसी व्यक्त गरेकी छन् । अब उनले अध्ययनलाई निरन्तरता दिने पनि बताएकी छन् । 
 
कोरोनाका कारण कलेजमा निरन्तर पढाई नभएकाले छोटो समयको अध्ययनको भरमा परीक्षा दिएकाले नतिजाबाट आफू पूर्ण सन्तुष्ट रहेको उनको भनाई छ । करिश्माले घर नजिकै रहेको गोदावरीस्थित किटिनी माविबाट १२ कक्षाको परीक्षा दिएकी थिइन् । उनी स्नातक पनि सोही विद्यालयमा पढ्ने सोचमा छिन् । स्नातकमा आफूलाई ग्रामीण विकास पढ्ने इच्छा रहेको उनले बताइन् ।
 
१४ वर्षको उमेरमा फिल्म ‘सन्तान’ मा अभिनेत्रीको रुपमा डेब्यू गरेपछि अध्ययनलाई निरन्तरता दिन नसकेकी करिश्मा करीब ६ वर्ष अगाडि मैतिदेवीको त्रिवेणी पब्लिक स्कूलमा कक्षा ८ मा भर्ना भएकी थिइन् । उनले एसईईसम्मको अध्ययन सोही स्कूलबाट गरिन् । उनले एसईईमा ३ जीपीए ल्याएकी थिइन् । करिश्माले ‘पढ्नलाई उमेरले रोक्दैन’ भन्ने एउटा उदाहरण पेश गरेकी छन् ।
Most Visited News (monthly)