
अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले फिल्म ‘ए मेरो हजुर ३’ बाट अभिनेत्रीको रुपमा सानदार डेब्यू गरिन् । अमेरिकामा अध्ययन गरिरहेको समयमा पिता (सुनिल कुमार थापा) को आग्रहपछि फिल्ममा काम गरेकी उनलाई पहिलो फिल्मले नै सफलताको उचाइँमा पुर्यायो । यो फिल्मबाट उनले ठूलो वाहवाही बटुलिन् । अब उनी फिल्म ‘ए मेरो हजुर ४’ मा देखिँदैछिन् ।
पहिलो चरणको लकडाउनभन्दा अगाडि यो फिल्मको छायांकन भइरहेको थियो । तर, लकडाउन जारी भएपछि करीब ९ महिना फिल्मको छायांकन नै रोकियो । लकडाउन अन्त्यपछि भने निर्माण टिमले फिल्मको बाँकी छायांकन पूरा गर्यो । तर, सम्पादन र डबिङको काम सुरु नहुँदै फेरि बन्दाबन्दी भएपछि सुहाना माता र पिताको साथमा अध्ययनका लागि अमेरिका उडेकी थिइन् ।
बिहीवार उनी अमेरिकाबाट नेपाल फर्किएकी छन् । उनलाई ‘पिकअप’ गर्न त्रिभुवन विमानस्थलमा पिता सुनिल कुमार थापा पुगेका थिए । ‘ए मेरो हजुर ४’ को डबिङ र प्रचार-प्रसारका लागि नेपाल आएकी सुहाना अब बाहिरी ब्यानरको फिल्ममा काम गर्ने सोचमा समेत छिन् । अहिले उनलाई एउटा फिल्मबाट प्रस्ताव आएको र उनी उक्त फिल्ममा काम गर्ने मनस्थितिमा रहेको बुझिएको छ ।
लकडाउनको समयमा दर्शकहरुले संसारभरका फिल्म हेरिसकेकाले ‘हामीले नयाँ दिन सक्छौं कि सक्दैनौं’ भनेर आफूलाई डर पनि रहेको सुहानाले बताएकी छन् । तर, आफूहरुले निकै मिहिनेत गरेकाले दर्शकको माया पाउनेमा उनी विश्वस्त छिन् । आउँदो बैशाखबाट उनी झरना थापाले निर्देशन गर्न लागेको होम प्रोडक्सनको नयाँ फिल्म ‘भागवत गीता’ मा काम गर्ने तयारीमा छिन् ।

