
कोरोनाका कारण करीब २ वर्षदेखि शुक्रवारका दिन नेपाली फिल्म रिलिज हुन पाएका थिएनन् । लामो समयपछि फ्राइडे रिलिज अन्तर्गत आजबाट फिल्म ‘ओभर डोज’ प्रदर्शनमा आएको छ । तीन दर्जन बढी सिंगल हलमा रिलिज भएको फिल्मले राजधानीका केही मल्टीप्लेक्समा भने शो नै पाएको छैन । जबकि, शुक्रवारबाटै रिलिज भएको हिन्दी फिल्म ‘तडप’ लाई उच्च शो दिइएको छ ।
नेपालको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले आफ्ना कुनै पनि स्टेशनहरुमा फिल्मलाई शो दिएको छैन । वान सिनेमाज र बिग मुभिजमा पनि फिल्मले शो पाएको छैन । फिल्मलाई क्यूज सिनेमाज, एफक्यूब र कीर्तिपुर सिनेप्लेक्सले समान एक/एक शो दिएका छन् भने आइएनआइ सिनेमाले दुई शो उपलब्ध गराएको छ । फिल्मको बिहानी शोमा दर्शकको उपस्थिति सुखद थिएन ।
सुमन पौडेल निर्देशित फिल्ममा प्रनिश राज पन्त, सबिन जंग थापा, बिना श्रेष्ठ, स्वामी डि, एलेन ब्रनिला, सदीक्षा कार्की, डुएन टर्नर लगायतको अभिनय रहेको छ । सम्पूर्ण छायांकन अमेरिकामा भएको फिल्मलाई जीवन कुमार केसीले निर्माण गरेका हुन् । उपेन्द्र पन्जियार, जुनियर मोरेनोको कथा रहेको फिल्ममा पिजे वाइबाको संगीत, साजन कार्कीको सम्पादन र गुच्ची भाईको क्यामेरा छ ।

